१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बन ऐन र नियमावली अनुसार समन्वय गर्नुपर्छ : नगर प्रमुख अर्याल



मायादेवी अनलाइन, बाणगंगा ।
वाणगंगा नगरपालिका नगर प्रमुख चक्रपाणी अर्यालले नगर भित्रका सामुदायिक बनहरुले एकिकृत कार्ययोजना बनाएर समग्र विकासमा योगदान पु¥याउने गरी काम गर्नुपर्ने बताउनुभयो । नगरको एकिकृत विकासमा अपेक्षा अनुसारको सामुदायिक बनहरुले समन्वय नगरेकाले यसतर्फ नगरको ध्यान आकृष्ट भएको बताउनुभयो ।

सिद्धार्थ क्याम्पस वाणगंगामा श्रृगिंघाट सामुदायिक बन उपभोक्ता समूहको ११ औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै उहाँले नगरको समग्र विकासमा सामुदायिक बनको जिम्मेवारी र भूमिकामा नगरपालिकाले बनका नेतृत्वसंग आवश्यक छलफल गरी एकिकृत योजना बनाएर अघि बढ्न खोजेको समेत बताउनुभयो ।

प्रमुख अर्यालले बनको आम्दानीलाई खर्च गर्दा दोहोरोपना आउन नदिने गरी नगरसंग समन्वय गर्न आवश्यकता देखिएको बताउनुभयो । विकास निर्माण र गरिब विपन्न समुदायको क्षेत्रमा लगानी गर्दा सामुदायिक बनहरुले समन्वय नगरेकाले दोहोरोपना आएको बताउदै उहाँले भन्नुभयो, ‘बनको संरक्षण, व्यवस्थापन तथा समुदाय सहयोगका कार्यक्रमहरुमा सहकार्य हुन जरुरी छ ।’

बनबाट आउने आम्दानीको राजश्व नगर र प्रदेशको आम्दानी समेत हुने भएकाले आम उपभोक्ता यसतर्फ चनाखो हुनुपर्नेमा जोड दिनुभयो । संघीय र प्रदेश बन ऐन तथा नियमावली अनुसार कार्ययोजना बनाएर समन्वग गरी एकिकृत रुपमा अघि बढ्न नगर प्रमुख अर्यालले आग्रह गर्नुभयो ।

साधारण सभामा वैज्ञानिक बन व्यवस्थापन उपभोक्ता महासंघकी केन्द्रिय अध्यक्ष रेनु सेनले बन व्यवस्थापनका लागि वैज्ञानिक पद्धती अनुसार रणनीति अवलम्बन गर्नुपर्ने बताउनुभयो । सोही अवसरमा वाणगंगा र गजेहडा भुपु सैनिक खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र विक्रम शाह, समाजसेवी शंकर पौडेल लगाएतले बनको कार्ययोजनालाई सही रुपमा कार्यान्वनय गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा श्रृगिंघाट सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष गणेश बहादुर सिंह ठकुरीले आ.ब.२०८०/८१ को प्रस्तावित आय व्यव सहितको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । त्यस्तै सचिव सुष्मा खाँणले आ.ब. ०७९/८० को प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष हरि प्रसाद पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही आर्थिक वर्षको लेखा प्रतिवेदन संयोजक कृष्ण प्रसाद पौडेलले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी, विशिष्ट अतिथी, अतिथी तथा उपभोक्तालाई बनका उपाध्यक्ष वुद्ध बहादुर शाहीले स्वागत गर्नुभएको थियो ।

सामुदायिक बन उपभोक्ता महासंघका लुम्बिनी उपाध्यक्ष हुमनाथ भट्टराई, वैज्ञानिक बन व्यवस्थापन महासंघ लुम्बिनी अध्यक्ष दिपक थापा, वाणगंगा नगरपालिका वडा न. ४ का वडा अध्यक्ष छविलाल रेश्मी मगर, ३ का वडा अध्यक्ष टेक बहादुर झेडी मगर, ६ का वडाअध्यक्ष करण टण्डन कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, समाजसेवी विष्णु थापा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष हरि अधिकारी लगाएतको आतिथ्यता रहेको थियो ।

वाणगंगा नगरपालिका १, ३, ४ र ५ का उपभोक्ता रहेको उक्त समूहले आगामी १० वर्षे २०९०/९१ को बन कार्ययोजना समेत साधारण सभाबाट पास गरेको छ । ५ सय ६६ हेक्टर क्षेत्रफल रहेको यस बनको २ हजार बढि उपभोक्ता घरधुरी रहेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८० सोमबार ००:००  ९ : ०८ बजे