११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिँदै



काठमाडौँ ।
हृदयघातबाट निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ।

बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति नेम्वाङलाई हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल लगिएको थियो। चिकित्सकले निधन भएको घोषणा गरेका थिए।

स्नातक अध्ययनका क्रममा २०२८ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति भएका थिए।

२०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र ९माले० मा सङ्गठित भएका थिए। एमाले केन्द्रीय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।

२०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए।

नेम्वाङ २०६३ सालमा पुनःस्थापित प्रतिनिधि सभाका सभामुख, २०६४ सालमा व्यवस्थापिका संसद्को सभामुख, २०६५ र २०७० सालमा संविधानसभाका अध्यक्ष रहेका थिए।

उनले २०३२ देखि २०६३ सालसम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महीना थुनामा बिताएका थिए। नेम्वाङले २०५१ सालमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए।

त्यसैगरी २०३५ देखि २०४२ सालसम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका नेम्वाङ वरिष्ठ अधिवक्ता समेत हुन्।

प्रकाशित मिति : २६ भाद्र २०८० मंगलबार ००:००  ७ : ५४ बजे