११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

तिलोत्तमामा अर्को महिलाको रहस्यमय मृत्यु, श्रीमान पक्राउ



बुटवल ।
रुपन्देहीको तिलोत्तमामा गुल्मीको एक महिलाको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् ।

तिलोत्तमा नगरपालिका वडा नं १ शंकरनगर बस्दै आएकी ४३ वर्षीया यमकला पन्थीको हत्या आरोपमा उनका श्रीमान ४५ वर्षीय मुमराज पन्थीलाई प्रहरीले नियन्त्रमा लिएको हो ।

गुल्मीको धुर्कोट गाउँपालिका वडा नं ४ स्थायी घर भई हाल रुपन्देहीको तिलोत्तमामा घाडामा बस्दै आएकी यमकला भदौ २७ गते विहान घर अगाडि मृत अवस्थामा फेला परेको र उनको मृत्यु नभई हत्या भएको जाहेरी प्रहरीमा परेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले तिलोत्तमास्थित एक घरको माथिल्लो तलामा डेरा गरी बस्ने यमकला जमिनमै मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र घटनापछि आमाको हत्या भएको भन्दै छोराले बुवाविरुद्ध जाहेरी दर्ता गराएको बताए ।

प्रहरीका अनुसार प्रारम्भिक रिपोर्टमा यमकलाको शवमा हत्यासम्बन्धी कुनै शंंकास्पद वस्तु वा सवुत भने भेटिएको छैन । दैनिक ज्यालादारी गरेर बस्ने उक्त दम्पत्ति दुबै जना मापसे गर्ने र समय समयमा झैझगडा गरिरहने नजिकका आफन्तहरुले बताएका छन् ।

‘घरको माथिल्लो तल्लामा बाहिरबाट बनाइएको भर्याङबाट चढ्नु पर्ने भएकाले आफै लडेको जस्तो पनि देखिन्छ ।’प्रहरी नायव उपरीक्षक थापाले भने, ‘शवको प्रकृति हेर्दा हत्याको त्यस्तो कुनै सवुत वा आधारहरु भेटिएका छैनन्, यद्यपि उनका छोराले हत्या भएको भन्दै जाहेरी दर्ता गराएका छन्। हामी अनुसन्धानमै छौ ।’

उनीहरुका ३ भाइ छोराहरु मध्ये एक भाइ रोजगारका लागि भारत आउजाउ गर्ने र बुवाआमाबाट अलग्गै बस्दै आएका छन् । यमकलाको हत्या भएको भन्दै उनकी बहिनी तथा माइती पक्षले आरोप लगाएका छन् भने छोराले विहीबार प्रहरीमा जाहेरी दर्ता गराएका छन् ।

श्रीमान ममराजले यसभन्दा अगाडि पनि मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गर्ने गरेकोले अहिले श्रीमानले नै हत्या गरेको भन्दै मृतकका बहिनीहरुले ममराजका बिरुद्ध कारबाहीको माग गरेका छन् ।

शवलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । आइतबार थप अनुसन्धानका लागि फरेन्सिक जाँच टोलीबाट रिपोर्ट तयार पारिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८० शनिबार ००:००  ८ : ४२ बजे