१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ओली र विश्वप्रकाशको परिवारलाई जोड्ने छोरी स्वीकृति ‘बासँग बालबालिका’



काठमाडौं ।
संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण शोकमा रहेका अध्यक्ष केपी शर्मा ओली शनिवार बालबालिकासँग छलफलका लागि सार्वजनिक कार्यक्रममा निस्कदैँछन्।
यसअघि भदौ २८ गते बुबाको मुख हेर्ने दिन पारेर पूर्व निर्धारित ‘बा सँग बालबालिका’ कार्यक्रम नेम्वाङको असामयिक निधनका कारण रोकिएको थियो । सोही कार्यक्रम आज भक्तपुरस्थित इम्पेरियल पार्टी प्यालेसमा हुन लागेको हो ।
नेम्वाङको निधनका कारण बाको मुख हेर्ने दिन शोकमा रहेका ओलीसँग भेट गर्न नपाएकी आयोजक मध्येकी एक बालिका स्वीकृति शर्मा शुक्रबार बालकोट पुगेर ‘केपी बा’को मुख हेरिन् । उनी कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माकी छोरी हुन् ।
स्वीकृतिले ओलीलाई आफूले लगेका परिकारहरु समेत चखाएकी थिइन् । त्यस क्रममा बा र छोरीले केहीबेर रमाइलो क्षण बिताएको ओलीको सचिवालयले जनाएको छ । स्वीकृतिले केपी बासँगका आफ्ना फोटो तथा भिडिओहरु टिकटकमा राखेकी छन् ।
ओलीलाई बा भन्ने स्वीकृति नै आजको कार्यक्रमको मोडरेटर हुन् । उनलाई केपी ओलीले पनि छोरीको दर्जा दिएर माया गर्ने गरेका छन् । स्वीकृतिकै कारण ओली र विश्व प्रकाशको सम्बन्ध राजनीतिक रुपमा प्रतिस्पर्धी भएपनि सामाजिक रुपमा पारिवारिक र भावनात्मक बनाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी कार्यकर्ताहरुले ‘बा’ को सम्बोधन गर्छन् । अब विस्तारै यही नामले उनी पार्टी बाहिर पनि ब्रान्डिङ हुन थालेका छन् । यस्तै कार्यक्रम हो ‘बासँग बालबालिका’ ।
‘एड टक्स’ नामक संगठनका तर्फबाट यो कार्यक्रम आयोजना गरिएको स्वीकृतिले बताएकी छन् । एड टक्सले जनाएअनुसार ‘बासँग विद्यार्थी’ नाममा कार्यक्रम आयोजनाको निम्तो ओलीलाई एक महिना अघि नै दिइएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८० शनिबार ००:००  १ : ४० बजे