१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

आकस्मिक सेवा बाहेक बन्द गर्ने चिकित्सक संघको घोषणा



काठमाडौं ।

नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। 

शनिबार साँझ संघले एक विज्ञप्ति जारी गर्दै आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेको हो। गत बुधबार हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाहीको माग गरेको थियो ।

सम्पूर्ण दोषीहरूलाई कानुनी दायरामा नल्याएको भन्दै संघले आइतबारदेखि आन्दोलनको घोषणा गरेको हो। 

आन्दोलनको पहिलो बुँदामा भनिएको छ,‘आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द गरिने।’

दोस्रोमा हेटौंडा अस्पतालमा भएको घटनामा संलग्न सबै दोषीहरूको छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता गर्न माग गरेको छ। स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अबिलम्ब मिलाउन पनि माग गरेको छ। 

हेटौंडामा भएको घटनापछि दोषीलाई पक्राउ गरी कानुनी कारबाहीमा ल्याउनु सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरूले मेलमिलाप गराउने भनेर घटनालाई निस्तेज पार्न खोजेको भन्दै सम्बन्धित निकायमाथि पनि छानबिन गर्न संघले माग गरेको छ। 

प्रकाशित मिति : ३० भदौ २०८० शनिबार ००:००  ९ : ३३ बजे