१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

अर्घाखाँचीमा पाइँदैनन् विज्ञान र गणितका शिक्षक



अर्घाखाँची ।
अर्घाखाँचीका विद्यालयहरूले गणित र विज्ञान विषयको पटक–पटक विज्ञापन आह्वान गर्दा पनि शिक्षक पाउन सकेका छैनन् । पढेलेखेका युवा रोजगारी तथा अध्ययनका लागि विदेश जाने क्रम बढेपछि विद्यालयमा शिक्षक पाउन नसकिएको हो ।

पहिले विद्यालयमा शिक्षकको कमी हुँदैन थियो । तर पछिल्लो समय अर्घाखाँचीका विद्यालयले पटक–पटक शिक्षकको विज्ञापन आह्वान गर्दा पनि पाउन नसकेको शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीका प्रमुख मणिराम पराजुलीले जानकारी दिनुभयो ।

शितगंगा नगरपालिका–९ मा रहेको पाकुरी माध्यमिक विद्यालयले गणित र विज्ञान विषयको शिक्षकका लागि पटक–पटक गरी तीन पटक विज्ञापन आह्वान गर्दा पनि पनि पाउन सकेको छैन । नगरपालिकाको विकट क्षेत्र मानिने सिद्धाराको पाकुरी माविमा गणित र विज्ञान विषयको शिक्षक पाउन नसकेपछि पढाइ प्रभावित भएको शितगंगा नगरपालिकाका शिक्षा अधिकृत विनोद पोख्रेलले बताउनुभयो ।

शितगंगा–९ लामातालमा रहेको विष्णुपथ चौपारी आधारभूत विद्यालयले पनि गणित र विज्ञान विषयको शिक्षकका लागि तीन पटकसम्म विज्ञापन आह्वान गर्दा पनि पाउन सकेको छैन ।

मालारानी गाउँपालिकामा रहेको वीरेन्द्र माध्यमिक विद्यालयमा चार महिनादेखि गणित विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको छ । शिक्षक आह्वानका लागि तीन पटकसम्म विज्ञापन आह्वान गर्दा पनि माध्यमिक तहको शिक्षक दरबन्दीमा कसैको दरखास्त नपरेको विद्यालयका प्रधानाध्यापक कमल पछाई बताउनुहुन्छ । पढेलेखेका युवा रोजगारी तथा अध्ययनका लागि विदेशमा गएर नफर्किएका कारण शिक्षक पाउन नसकिएको उहाँको भनाइ छ ।

विज्ञान र गणित विषय लिएर पढेका विद्यार्थीहरूको पहिलो रोजाइ वैदेशिक यात्रा, दोस्रोमा लोक सेवा आयोग र तेस्रोमा मात्र शिक्षक सेवा रहेकाले पनि गाउँका विद्यालयमा यी विषयका शिक्षक पाउन मुस्किल भएको हो ।

पाणिनि गाउँपालिका–७ को जनसेवा माध्यमिक विद्यालयले माध्यमिक तहमा विज्ञान विषयको शिक्षक आह्वानका लागि पहिलो पटक गएको साउनमा विज्ञापन गर्‍यो । तर कसैको दरखास्त परेन । पटक–पटक गरी पाँच पटक विज्ञापन गरेको विद्यालयका प्रधानाध्यापक शालिकराम बेल्वासेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाँचौँ पटकको विज्ञापनमा दुई जनाले दरखास्त दिएका छन् । परीक्षा नहुँदै शिक्षक पायौँ भनेर भन्न सकिने अवस्था छैन ।’

आर्थिक वर्ष २०७९र८० मा विदेशमा पढ्न जान एक लाख जनाभन्दा धेरैले अनुमति लिएका सरकारको तथ्याङ्क छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति ९एनओसी० शाखाका अनुसार २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्म एक लाख १० हजार दुई सय १७ जनाले एनओसी लिएको तथ्याङ्क छ । अस्ट्रेलिया, क्यानडा, बेलायतका लागि एनओसी लिने बढी देखिएका छन् । नेपालबाट विभिन्न एक सय ११ वटा देश जानका लागि विद्यार्थीहरूले एनओसी लिएका शाखाले जनाएको छ ।

बढ्दो बसाइँसराइका कारण पनि अर्घाखाँचीका विद्यालयहरूमा विद्यार्थीको सङ्ख्या घट्दो छ । सदरमुकामका केही निजी विद्यालयमा विद्यार्थीको चाप बढे पनि गाउँका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दो क्रममा छ ।

प्रकाशित मिति : ४ आश्विन २०८० बिहिबार ००:००  ८ : २१ बजे