१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाणगंगा नदीलाई खेत भनेर बेचबिखन



मायादेवी अनलाइन, बाणगंगा

कपिलवस्तु जिल्लाकै महत्त्वपूर्ण सिँचाइ क्षेत्र लक्ष्मणघाट क्षेत्र हुँदै बग्दै आएको बाणगंगा नदीभित्र पर्ने करिब १० विगाहा जग्गा व्याक्तिको नाममा रहेको छ ।

लालपुर्जा भए पनि सो क्षेत्र स्थानीयले हालसम्म रेखदेख तथा संरक्षण गर्दै आएका थिए । तस्करहरुले सो जग्गा खरिद गरी उत्खनन् गर्ने उद्देश्यले पटक पटक किन बेचको लागि कोसिस गरे । तर स्थानीयले चाल पाएपछि बेचबिखन रोकिएको थियो ।

दशकौँदेखि नदीका रुपमा बग्दै आएको बाणगंगा नदी क्षेत्रको जग्गा २ महिना अगाडि सुटुक्क बिक्री गरिएको खुलासा भएको छ । बाणगंगा नगरपालिका वडा नं. ६ साविक कोपवा गाविस ६ क कित्ता नं. १३१३ को जग्गा २०८० साल जेष्ठ ४ गते विक्री गरिएको पाइएको हो । बाणगंगा नगरपालिका वडा नं. ६ अमौली निवासी जोखन थारुको नाममा रहको १० कठ्ठा १३ धुर जग्गा विक्री भएको हो।

वर्षौदेखि बगिरहेको बाणगंगा नदीको जग्गालाई वडा अध्यक्ष करुण टन्डनले जेठ ३ गते चलानी नम्बर १५४३ मा उक्क्त जग्गालाई कृषिक्षेत्र भनी प्रमाणित गरी भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवामा किनबेचका लागि सिफारिस दिएका छन् ।

उक्त जग्गा श्रेष्तामा व्यत्तिको नाममा देखिए तापनि परापूर्व कालदेखि नै नदी बगिरहेको छ। विगतदेखि नै विभिन्न प्रलोभन देखाएर उक्त जग्गा विक्रीका लागि अथक प्रयास भए तापनि बिगतका जनप्रतिनिधि, कर्मचारीले उक्त जग्गाको सिफरिस नदी क्षेत्र पर्ने भएकाले सिफारिस दिन रोक लगाएका थिए। बगिरहेको खोलाको जग्गाको मूल्य १६ लाख कायम गरी जेठ ४ गते जिल्ला मालपोत कार्यालयबाट बुटवल उपमहानगरपालिका १० बस्‍ने प्रायुस्मा थापाको नाममा उक्त जग्गा विक्री गरेको राजिनामा पत्रमा स्पष्ट देखिन्छ ।

यसरी बाणगंगा नगरपालिकाकै महत्त्वपूर्ण सिँचाइ बाँधको रुपमा रहेको लक्ष्मणघाट वरपरको जग्गा नै खेतीयोग्य जग्गा भनी सिफारिस दिने तथा किनबेच गर्ने कार्य भएको हुँदा जग्गा किनबेचमा ठुलै षड्‍यन्त्र तथा चलखेल रहेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : ७ आश्विन २०८० आइतबार ००:००  ११ : ४६ बजे