१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट



काठमाडौँ ।
यस वर्षको दसैं र तिहारमा पनि नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यले बताए ।

‘कहाँ के कति नोट उलपब्ध छ ? बैंक तथा वित्तीय संस्था र सर्वसाधारणको मागअनुसार के कति थपरघट गर्नुपर्ने हो भनेर अहिले राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोटकोष सुविधा लिएका बैंकसँग नयाँ नोटको विवरण मागेका छौं,’ उनले भने, ‘नोटको विवरण संकलन भइसकेपछि घटस्थापनाको आसपासदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुरु गर्छौं ।’

अघिल्ला दुई वर्ष जस्तै यस वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा दिन लागेको छ । यो ५ देखि १ सय रुपैयाँसम्मको एकरएक बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी छ ।

राष्ट्र बैंकले आफ्ना कार्यालयमार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई वर्षभर नै नयाँ नोट वितरण गरिरहेको हुन्छ । यद्यपि दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने भन्दै त्यसलाई नियमित कार्यक्रमसरह मानेर वितरण गर्दै आएको छ । राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले यही असोज अन्तिम साता (घटस्थापना आसपास) देखि सूचना नै जारी गरेर सर्वसाधारणलाई नयाँ नोट सटही गरिने शाक्यले बताए ।

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने भन्दै यस वर्षदेखि राष्ट्र बैंकले नयाँ नोट सटही गर्न आउनेलाई क्यूआर कोडअन्तर्गत भुक्तानी गर्न आग्रह गर्ने भएको छ । ‘क्यूआर कोडमार्फत भुक्तानी गर्नेबाहेकले नयाँ नोट सटही सुविधा पाउँदैनन् भन्ने होइन, सबैले पाउँछन्,’ उनले भने, ‘तर सम्भव भएसम्म क्यूरआरमार्फत भुक्तानी गर्न हामीले आग्रह गर्छौं ।’

नगद कारोबार कम गरी डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पनि क्यूआर कोडलाई प्राथमिकतामा राखिएको शाक्यले जनाए । गत वर्ष राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थालाई र २९ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गरेको थियो ।

दसैं र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् । खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् । बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएको राष्ट्र बैंकले जनाएको छ । यो रकममा सिक्काको हिसाब हुँदैन । दसैं र तिहारको अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का (चाँदीका स्मारिका सिक्का र सुनका असर्फी) पनि धेरै बिक्री हुँदै आएको छ ।

दसैं र तिहारका लागि नयाँ नोटको आकर्षण बढ्दो छ । मागअनुसार राष्ट्र बैंकले बर्सेनि वितरण गरिने नयाँ नोटको परिणाम पनि बढाउँदै आएको छ । यसले बजारमा मुद्रा आपूर्ति बढाउँछ । यसको अर्थ नागरिकको हातहातमा धेरै पैसा पुग्छ । हातहातमा पैसा भएपछि खर्च गर्ने प्रवृत्ति बढ्छ । खर्च गर्ने क्षमता बढेपछि माग बढ्छ । माग बढेपछि बजारमा वस्तु तथा सेवाको मूल्य बढ्छ । यसले समग्र राष्ट्रको मूल्यवृद्धिदर बढाउँछ । मूल्यवृद्धिदर बढ्नु भनेको पैसाको क्रयशक्ति (भाउ) घट्नु हो । यसकारण पैसाको मूल्य तीव्र रूपमा घट्न नदिन अर्थविद्हरू सुझाउँछन् । यद्यपि पछिल्ला वर्षहरूमा नयाँ नोट सटही राष्ट्र बैंकका लागि चुनौतीपूर्ण बन्दै गएको उनीहरूको धारणा छ ।

पछिल्ला वर्षमा राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै आएको छ । बिस्तारै नगद कारोबारको सीमा घटाउँदै जाने रणनीति राष्ट्र बैंकले लिएको छ । तर हरेक वर्ष ठूलो परिमाणमा नयाँ नोट वितरण गर्न भने छाडेको छैन । सफा नोट नीति प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा नोटको उचित व्यवस्थापन हुन नसकेको राष्ट्र बैंककै उच्च अधिकारी बताउँछन् । एकातिर डिजिटल भुक्तानी भन्ने अर्कोतिर हरेक वर्ष ठूलो परिमाणमा नयाँ नोट वितरण गर्ने काम उद्देश्यविपरीत भएको उनीहरूको आरोप छ ।

गाईको चित्र अंकित चाँदीका सिक्का बिक्री सुरु

नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अंकित मेडालियन सिक्काको बिक्री वितरण सुरु गरेको छ । बबरमहलस्थित टक्सार महाशाखाले १० र २५ ग्रामका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री सुरु गरेको हो । दर उल्लेख नगरी निष्कासित सिक्कालाई मेडालियन भनिन्छ ।

१० ग्राम सिक्काको मूल्य १ हजार ६ सय रुपैयाँ र २५ ग्राम सिक्काको मूल्य ४ हजार रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको महाशाखाले जनाएको छ । दुवै प्रकारका सिक्कामा ९९९ टचको चाँदी प्रयोग गरिएको छ । यो सिक्काको मागलाई हेरेर आगामी समय टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८० मंगलबार ००:००  ८ : ५६ बजे