१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गरिबीका कारण उपचार अभावमा ठेडुल्कोमा दुखदायी जीवन गुजार्दै बाणगंगाका टंक



मायादेवी अनलाइन, बाणगंगा ।
४ वर्षअघि ठेडुल्कोबाट उद्धार गरी उपचार पाएका टंक न्यौपाने पुनः पहिलेकै अवस्थामा पुगेका छन् । कपिलवस्तुको बाणगंगा ६ सुठौली निवासी ३४ वर्षिय टंकलाई मानसिक सन्तुलन गुमाएको भन्दै हाल एक हप्तादेखि ठेडुल्कोमा राखिएको छ ।

२०७६ सालमा उनलाई मानसिक सन्तुलन गुमाएको भन्दै परिवारले नै दुईवटा खुट्टा हिड्न र चल्न नसक्ने गरी ठेडुल्कोमा बाँधेर राखेका थिए । उक्त समाचार स्थानीय संचार माध्यमबाट प्रकाशित भएपछि भक्तपुरस्थित मानव कल्याण आश्रममा पु¥याई औषधी उपचार गरिएको थियो । आश्रममा उनको करिव ८ महिनाको बसाईमा उपचार र संरक्षण पाएपछि सुधार भएर उनी घर फर्किएका थिए ।

त्यहाँबाट घर फर्किएका टंकले घरमा पुरानै लयमा काममा सघाउने, २/४ पैसा जोहो गरी घरखर्च चलाउन सक्ने, घरको काममा सघाउने समेत गरेका थिए । सोही अवधीमा भारत कामको शिलशिलामा पुगेका टंकले केही पैसा कमाएर घर समेत ल्याएका थिए । तर हाल औषधी उपचार नपाएर पुनः मानसिक सन्तुलन गुमाएपछि आफ्नै बाबुलाई चिर्पट प्रहार गरे र घाईते बनाए । त्यसपछि परिवारले नै छिमेकीको सहयोगमा उनलाई ठेडुल्कोमा बाँधेर राखेका हुन् ।

गरिवीका कारण घर परिवारसंग आर्थिक अभाव भएपछि नियमित उपचार पाउन नसेकेका टंकले कष्टकर जीवन विताएका छन् । छोराले बाबु आमालाई नै हिर्काएर घाइते बनाएपछि गाउँघरमा अन्यलाई समेत कुटपिट गर्ने डरले ठेडुल्कोमा बाँधेर राख्नुपरेको स्थानीय बताउँछन् । काठको मुडोमा २ ठाँउमा फलाम ठोकेर त्यसैभित्र खुट्टामा नेल ठोकी बलियो गरि बाँधिएको छ । त्यसैमा उनले कष्टकर जीवन विताईरहेका छन् । बर्खर जन्म दिएको बच्चालाई भन्दा बढि स्याहार सुसार गर्नुपर्ने बाध्यता आएको उनकी आमा बताउँछिन् । टंकलाई खाना बनाएर दिनेदेखि दिसा पिसाब सवै गराउनुपर्ने स्थिती छ ।

छोराको अवस्थाले विक्षिप्त बनेकी उनकी आमा सहयोगको याचना गर्दै हिडेकि छन् । विगतमा भत्तपुर लगेर उपचार गरेपछि ठिक भएको बताउदै पुनःभक्तपुर सम्म पु¥याउन सहयोग माग्दै स्थानीय सरकारको ढोका चहार्दै हिडेकी छन् । कहिले वडामा त कहिले गाउँघरमा सहयोग माग्दै हिडेकी छु, हामीले हेर्ने कोही छैन, आमाले दुखोसो पोखिन् ।

टंकका बुवा छोराले कतिबेला जाईलाग्ने हो भन्ने डरले केही दिन देखि आफन्तको घरमा आश्रय लिईरहेका छन् । आमा भने छोराको उपचारका लागि विभिन्न निकायसंग हार गुहार गर्दै सहयोगका याचना गरेकी छन् ।

आश्रमकी अध्यक्ष सुमि मावनले आफुहरुलाई टंकको अवस्था थाहा भएको तर आश्रममै आए आफुहरुले सम्पुर्ण पालन पोषण सहित उपचार र संरक्षण गर्ने बताइन् । तर आर्थिक अवस्था कमजोर हुँदा परिवारसँग काठमाण्डौ पुग्ने रकम छैन । सार्वजनिक बसमा लैजाने अवस्था छैन ।

यस अघि कपिलवस्तु जेसीजको एम्बुलेन्सको सहयोगमा काठमाण्डौ पु¥याईएको थियो । हाल उक्त एम्बुलेन्स पनि केही खराबी आएका कारण काठमाण्डौ पुग्न नसक्ने अवस्थामा रहेको जेसीजका अध्यक्ष अमृत घिमिरेले बताए । एम्बुलेन्स मर्मत सम्भार पछि काठमाण्डौं पुराएर सहयोग गरिदिने घिमिरेले बताए ।

छोराको मानसिक असन्तुलनका कारण न्यौपानेको घरपरिवारमा जटिल समस्या परेपछि मानवीय हिसावले सवैले साथ दिनुपर्ने सरोकारवाला बताउँछन् ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्यालले नगरपालिकामा सहयोग लागि निवेदन दिन भनेको र निवेदन आउनासाथ तत्काल आफूले उपचारको लागि सहयोगको व्यवस्था मिलाउने बताए ।

प्रकाशित मिति : १० आश्विन २०८० बुधबार ००:००  ६ : ५५ बजे