४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

प्रदेशकै रत्न कपिलधाममा सांसद पन्थीद्धारा प्राकृतिक चिकित्सालयको उद्घाटन



बाबुराम रायमाझी ।

कपिलवस्तुको वाणगंगा ९ स्थित प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल कपिल आरोग्य मन्दिर कपिलधाममा स्थापना गरिएको प्राकृतिक चिकित्सा अस्पतालको उद्घाटन भएको छ । चिकित्सालयको लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले एक समारोहबीच उद्घाटन गर्नुभएको छ । सोही अवसरमा संस्थाको १३ औँ वार्षिक साधारणसभा, दिशानिर्देश कार्यशाला गोष्ठी तथा कपिल प्राकृतिक चिकित्सालयको एकैसाथ उद्घाटन गरिएको हो ।अस्पतालको उद्घाटन गर्दै सांसद पन्थीले लुम्बिनी प्रदेशको रत्नको रुपमा रहेको कपिलधाममा संचालित प्राकृतिक चिकित्सालयबाट धेरै नागरिकले सेवा पाउने बताउनुभयो । उहाँले जीवन जिउने तरिकामा ध्यान दिनुपर्ने बताउदै स्वस्थ जीवन यापनमा चिकित्सालयले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । आम नागरिकले स्वस्थ रहन आहर बिहारमा ध्यान दिनुपर्ने बताउदै नागरिक भनेका राज्यका सम्पत्ति भएकोले लगानी गर्नुपर्ने पन्थीले बताउनुभयो ।
कार्यक्रममा वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले शाख्य दर्शनका प्रर्वतक कपिलमुनि ऋषिले यस पवित्र पर्यटकीय स्थल कपिल आरोग्य मन्दिर, कपिल धाममा तपस्या गरेका र यही स्थानमा प्राकृतिक चिकित्सा अस्पताल हुनु राम्रो भएको उल्लेख गर्नुभयो । उहाँले प्राकृतिक चिकित्सालय संचालनका लागि नगरबाट कार्यविधि बनाई स्विकृती दिइएको र यसमा नगर तथा प्रदेशको समेत लागनी रहेको बताउनुभयो ।
आठ शैयाको उक्त अस्पताल १६ लाखको लागतमा निर्माण भएको प्राकृतिक चिकित्सा अस्पताल संचालक समितिले जानकारी दिएको छ ।
यस अघि बाणगंगा ८ को बालापुरमा संचालित आर्युवेद अस्पतालको बृहत्तर अवधारणा अनुसार कपिलधामलाई प्राकृतिक चिकित्सासँग जोड्ने काम भएको समितिका सचिव भोजराज थारुले बताउनुभयो । प्रदेश सरकार र केन्द्रिय सरकारका निर्देशिका अनुसार प्राकृतिक चिकित्सा संचालनको कार्यविधि बाणगंगा नगरपालिकाबाट पारित भएपछि उक्त चिकित्सालय संचालन तथा उद्घाटन गरिएको हो ।
हाल लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयबाट बिनियोजित १० लाखको बजेटमा अर्को एउटा भवन तयार गरिदै छ । प्राकृतिक चिकित्सालाई थप प्रभावकारी बनाउन यहाँको समितिले तालिम प्राप्त चिकित्सक तथा कविराज नियुक्त गरेको छ । कार्यक्रममा प्राकृतिक चिकित्सा अस्पतालमा विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै १४ जनालाई प्रमाणपत्र र खादाले सम्मान गरिएको छ ।
सम्पन्न सभामा कपिल आयुर्वेद चिकित्सा अस्पताल संचालक समितिका सचिव भोजराज थारुले वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । यस्तै कोषाध्यक्ष इन्द्रमणि घिमिरेले आर्थिक वर्ष २०७९÷०८० को १२ लाख ८१ हजार बराबरको आयव्यय सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा संस्कृत गुरुकुलमका कार्यकारी अध्यक्ष थानेश्वर बेलबासे, वाणगंगा ९ का पूर्व वडा अध्यक्ष धु्रव बेलबासे, सैनामेना आयुर्वेद प्राकृतिक चिकित्सा अस्पतालका प्रमुख धुर्वकुमार घिमिरेले बधाई दिनुभयो । कार्यक्रम समितिका अध्यक्ष आत्मराम आचार्यको अध्यक्षता सहित वडा नम्बर ७, ८ र ९ का विभिन्न सामुदायिक वनका अध्यक्षहरु, विभिन्न स्वास्थ्य क्षेत्रका व्यक्तिहरु, संघ सस्थाका प्रतिनिधी लगाएतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८० शुक्रबार ००:००  ९ : ४० बजे