१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विद्यालय शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत



काठमाडौँ ।
विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।

आज आइतवारको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने बाटो खुला भएको छ । अबको ७२ घण्टाभित्र सांसदहरूले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न सक्ने सभामुख देवराज घिमिरेले जानकारी गराउनुभयो ।

प्रस्ताव स्वीकृत गर्नुअघि शिक्षा मन्त्री राईले गएको ५ गते नेपाल शिक्षक महासङ्घ र १२ गते राहत शिक्षक केन्द्रीय समितिसँग भएका सहमति प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउनुभयो । उहाँले शिक्षक आन्दोलनका क्रममा उनीहरूसँग भएको सहमति अर्थतन्त्रले धान्ने र संविधानले मान्ने हदसम्म मात्र सम्बोधन हुने बताउनुभयो ।

सांसदहरूले उठाएका विषयमा जवाफ दिने क्रममा उहाँले विद्यालय शिक्षा विधेयक संविधानको व्यवस्था र मर्मबमोजिम नै तयार पारेको बताउनुभयो । उहाँले सङ्घीय सरकार र प्रदेश सरकारको समेत सहभागिता हुने गरी आधारभूत र माध्यमिक तहसम्मको शिक्षा पालिका तहलाई नै जिम्मा लगाउने सोच रहेको बताउनुभयो ।

विधेयक पुनर्लेखन गर्दा प्रक्रिया लम्बिने भन्दै उठेका मागहरू संसदमा प्रवेश गराएर सहमति गर्नु उचित हुने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २१ आश्विन २०८० आइतबार ००:००  ५ : ०६ बजे