१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘बच्चा जोगाउन’ खोज्दा लुम्बिनीका अर्थमन्त्री सवार गाडी दुर्घटनामा



दाङ ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की चढेको गाडी दुर्घटनामा परेको छ । आज सोमवार दिउँसो दाङको तुलसीपुर उपमहानगरपालिका–१२ सितलपुरको घुम्तीमा मन्त्री मास्की चढेको लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलिया हुँदै मन्त्रालयतर्फ जाँदै गरेको गाडी दुर्घटनामा पर्दा अर्थमन्त्री मास्की, स्वकीय सचिव शम्भु पौडेल, पीएसओ मनबहादुर थिडी, चालक मनबहादुर बंशी मगर सामान्य घाइते हुनुभएको छ । अर्थमन्त्रीसहित चार जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको तथा सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

बच्चा जोगाउनका लागि चालकले गाडी खाडलमा हाल्नुपरेको मन्त्रीका स्वकीय सचिव पौडेलले जानकारी दिनुभयो । विद्यालय छुट्टी भएपछि दौडिएर घरतर्फ जान थालेका एक जना बालकलाई जोगाउनका लागि चालकले गाडी झाडी भएको खाल्डोमा हालेका पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : २३ आश्विन २०८० मंगलबार ००:००  ७ : ४३ बजे