१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पर्यटकलाई अडाई राख्न पूर्वाधार र सुविधा बढाउन आवश्यक : सांसद पन्थी



कपिलवस्तु ।

आवस्यक पूर्वाधार, मनोरञ्जन र खेलकुदका आयामको विकास नहुनाले नै कपिलवस्तुमा पर्यटन प्रवर्धन हुन नसकेको लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले बताउनु भएको छ ।

लुम्बिनी आएका बाह्य तथा आन्तरिक पर्यटकलाई तिलौराकोट, राजापानी, लक्षमणघाट, कपिलधाम लगायत जिल्लाका पर्यटकीय स्थलमा अडाइ राख्न आवस्यक होटल, रेस्टुरेन्ट, मनोरञ्जन, खेलकुद लगायतका क्षेत्र नभएको उहाँले बताउनुभयो ।

राजापानी सामुदायिक वन उपभोक्ता समूहको २० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । राजापानी सामुदायिक वन मात्र नभएर जिल्लाका सम्पूर्ण वनलाई अब व्यवस्थित तरिकाले प्रवर्धन गर्नुपर्नेमा उहाँको जोड दिनुभयो  ।

अझैपनि हुने खाने केहि व्यक्तिहरुले वन तथा सार्वजनिक सम्पती हडपेर बसेको भन्दै त्यसलाई निरुत्साहित गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो । सार्वजनिक सम्पती हडपेर बसेकै कारण पछिल्लो समय कपिलवस्तुमा डुबानको समस्या टड्कारो बनेको समेत उहाँले बताउनुभयो ।

पूर्व स्वास्थ्यमन्त्री भइसक्नु भएका सांसद पन्थीले बन जंगललाई वातावरण संरक्षणको महत्वपूर्ण हिस्सा भएकाले बन मार्फत उद्यम, रोजगारी, आयआर्जन र राजश्वसंग जोडेर लैजानुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले राजापानीलाई बाणगंगाको प्रमुख पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताउनु भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउनसके राजापानी बाटनै बाणगङ्गा र कपिलवस्तुलाई चिनाउन सकिने उहाँले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवाका प्रमुख वन अधिकृत बिजयराज सुबेदीले पटना, राजापानी लगायतका चोरी तस्करी बढी हुने बनहरुमा ड्रोनको प्रयोग गरेर बनको रेखदेख गर्ने बताउनु भएको छ । विगतको तुलनामा धेरै चोरी तस्करीमा कमि भएपनि उक्त कार्यलाई निरुत्साहित बनाउन तिहार लगत्तै ड्रोनको प्रयोग गर्ने बताउनु भएको छ ।

त्यस्तै उहाँले बजेट ल्याउँदा वन उपभोक्ता समुहले निक्कै छलफल र बहस गरेर बजेट ल्याउनु पर्नेमा उहाँले जोड दिनुभएको थियो । कपिलवस्तुका एउटै बनमा ३/४ करोड बजेट रहेको भन्दै त्यसलाई सहि रुपमा प्रयोग गर्नसके बन सङ्गै जिल्लाको समृद्धिको लागि समय नलाग्ने उहाँले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले नियम कानुनलाई पालना गर्दै नगर भित्र रहेका सम्पुर्ण साझेदारी तथा सामुदायिक वनले स्थानीय सरकारलाई १० प्रतिशत बजेट प्रदान गर्ने हो भने बाणगङ्गाको विकासमा थप टेवा पुग्ने बताउनु भएको छ । बनहरुले विभिन्न विकास निर्माणका लागि बजेट खर्च गरेपनि उक्त बजेटलाई स्थानीय सरकार सङ्ग समन्वय नगरी बजेट खर्च गर्नुले प्रभावकारी नदेखिको उहाँको तर्क थियो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश योजना आयोग सदस्य सरोज खनालले वनले राखेका योजना र कार्यक्रमहरु उत्कृष्ट नै रहेको भन्दै ति योजनालाई सफलतापुर्वक सम्पन्न गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा वनकी अध्यक्ष सितादेवी पौडेलले राजापानी सामुदायिक वनलाई पर्यापर्यटनको क्षेत्रमा विकास गर्दै, स्थानिय स्तरमा सयौंलाई रोजगारी, हजारौँलाई स्वरोजगार र लाखौलाई मनोरञ्जन प्रदान गर्ने लक्ष लिएको बताउनु भएको छ । बनलाई भविश्यमा योजनाबद्ध ढंगले विकास गर्दै उपभोक्ताहरुको मागलाई समेत ध्यानमा राखि यसको गुरुयोजना निर्माणको कार्य सम्पन्न गरी सोही बमोजिमका क्रियाकलाप सञ्चालनको लागि डिपिआर तयार गर्ने काममा समेत जुटेको उहाँले बताउनु भयो ।

बाल उद्यान निर्माण, बुद्ध मुर्ति स्थापना, आकर्षक फुलवारी निर्माण, ऐतिहासिक राजापानी मुल संरक्षण, सुबिधा सम्पन्न बनभोज स्थल, माछापालन एवं जलसयरका लागि पोखरी निर्माण, आन्तरिक सजावट, फ्रि वाईफाई जोन, शौर्यबत्ती जडान, सिसि क्यामरा जडान, जोखिममा परेका बन्यजन्तुहरुको संरक्षणका लागि संरक्षण केन्द्र स्थापना, जातिय संग्राहलय निर्माण, धार्मिक मठ मन्दिर निर्माण, सुबिधा सम्पन्न खेल मैदान निर्माण, सुबिधा सम्पन्न सभाहल तथा प्रशासनिक भवन निर्माणका साथै यस सामुदायिक बनलाई अतिक्रमण तथा चोरी तस्करी हुन नदिनको लागि तारबार गर्ने, झाडी सफाइ, पुनरुत्पादन कटान गर्ने र ट्रेन्च खन्ने तथा अग्नि रेखा निर्माण गर्ने, थिनिङ्ग गर्ने कामलाई समेत निरन्तररुपमा अगाडी बढाईएको उहाँले बताउनु भएको छ ।

जनप्रतिनिधि, विभिन्न सामुदायिक तथा साझेदारी वनका अध्यक्ष तथा प्रतिनिधि, वनका पदाधिकारी, उपभोक्ता, विभिन्न संघ संस्थाका पदाधिकारी, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिती रहेको कार्यक्रम उपाध्यक्ष कुल बहादुर सोमैको स्वागत तथा सचीव दिनानाथ पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०८० बुधबार ००:००  ८ : ५१ बजे