१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुको बाणगंगामा लागू औषधसहित चार जना पक्राउ



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको इलाका प्रहरी कार्यालय पिपराले लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ ।

मंगलबार साँझ जिल्लाको बाणगंगा नगरपालिका वडा न. ११ ओदारी प्रोजेक्ट टोलबाट लागू औषध बोकेको सवारीसहित ती युवा पक्राउ परेका हुन् ।

जिल्ला सदरमुकाम तौलिहवाबाट ४ नं. जितपुर तर्फ रुपन्देही बुटवल उप–महानगरपालिका वडा न. ६ का ३६ बर्षीय युगल भट्टाराईले चलाई आउँदै गरेको वा २० च ९८३२ नं. को कारबाट उक्त लागू औषध पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सो कारबाट चालक भट्टराईसहित डम्बर बहादुर सारु, डम्बर बहादुर सारु मगर, सुनिल दर्लामी, राजु रास्कोटी मगर पक्राउ परेका हुन् । उनीहरु सबै बुटवल उपमहानगर निवासी हुन् ।

उक्त सवारीबाट लुकाई छिपाई राखेको अवस्थामा कालो प्लाष्टिकमा पोका भित्र सेतो कागजमा बेरी राखेको अवस्थामा ४८ पुरिया फेला परेको र उक्त पुरियाहरु खोली हेर्दा लागू औषध ब्राउन सुगर जस्तो धुलो पदार्थ रहेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

उक्त लागू औषध १२ ग्राम ३६० मिलिग्राम र कागजसहित एकमुष्ठ तौल गर्दा २ ग्राम ९०० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो धुलो पदार्थ फेला पारिएको हो ।

उनीहरुलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको जनाइएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८० बुधबार ००:००  ५ : ४४ बजे