१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा



काठमाडौं ।
यू–१९ प्रिमियर कपको समूह चरणमा अपराजित रहँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।

बिहीबार साउदी अरेबियालाई १९.१ ओभरमा ४६ रनमा अलआउट गर्दै नेपालले साउदी अरेबियामाथि ३०१ रनको फराकिलो जित निकालेको छ ।

३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदीले नेपालको स्पिन अट्याक झेल्न सकेन ।

नेपालको लागि यूएसडी यूकेएम ओभलमा बिहीबार पनि स्पिनरको जादु चल्यो । नेपालका लागि दिपेश कँडेलले ९.१ ओभर बलिङ गरेर ६ विकेट लिए । अर्का स्पिनर सुवास भण्डारीले ५ ओभर बलिङ गरेर एक विकेट लिए ।

पावरप्लेमा साउदी अरेबियाले ६ विकेट गुमाउँदा जम्मा १८ रन बनाएको थियो । पावरप्लेमा अब्दुल्लाह सिराजले सर्वाधिक ९ रन जोडे । १० औं नम्बरमा आएका ब्याटर वरुण मुदलियाले बनाएको ११ रन नै साउदीका खेलाडीले जोडेको सर्वाधिक स्कोर रह्यो । उनी २० औं ओभरको पहिलो बलमा दिपेशको बलमा आकाश त्रिपाठीबाट क्याच आउट भएका थिए ।

नेपालका तीव्र गतिका बलर आकाश चन्दले ३ ओभर बलिङ गर्दा १४ रन खर्चेर २ विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले अर्जुन कुमालको शतकमा ३४७ रन बनाएको थियो ।

ओपनर ब्याटर अर्जुन कुमालले १११ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै १४२ रन बनाए । उनले एक खेलमा सार्वधिक रन बनाउने नेपाली खेलाडीको कीर्तिमान पनि बनाएका छन् ।

अर्जुनले दीपक बोहरासँग पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि आकाश त्रिपाठीसँग १५५ रनको साझेदारी गरे । कप्तान देव खनाल भने डक आउट हुन पुगे । दीपक बोहरा २९ रन र विशालबिक्रम केसी २४ रनमा अविजित रहे ।

साउदी अरेबियाका मोहम्मद अहमद र अहमद राजाले दुईरदुई विकेट लिए । जुहैर मोहम्मद सजिव मुजिबुर रहमानले एकरएक विकेट लिए ।

समूह चरणको पहिलो खेलमा नेपालले इरानलाई २७४ रनले हराएको थियो । त्यस्तै, दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०८० बिहिबार ००:००  १ : ५१ बजे