२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

बुद्धभूमिको बजेटमा किसानलाई प्राथमिकता, यी हुन् चालु आवका कार्यक्रम



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले चालु आवमा किसानमैत्री कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

किसानलाई लक्षित गरी बार्षिक बजेट तथा कार्यक्रम बनाउँदै आएको बुद्धभूमिले यो बर्ष विगतका कार्यक्रमको निरन्तरतासँगै केही नयाँ कार्यक्रम ल्याएको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए ।

नगरपालिकाले चालु आवमा किसानका लागि ७० प्रतिशत अनुदानमा मोटर वितरण, साना कृषियन्त्र वितरण, कृषि उत्पादन चिस्यान केन्द्रमा राख्दा लाग्ने खर्चमा ५० प्रतिशत अनुदान जस्ता कार्यक्रम ल्याएको छ ।

यस्तै विद्यालय करेसाबारी स्थापना तथा प्रविधि विस्तार कार्यक्रम मार्फत कृषिमा विद्यार्थीलाई जोड्ने देखि नगरस्तरीय सर्वोत्कृष्ट तथा उत्कृष्ट कृषकलाई पुरस्कार, सम्मान कार्यक्रम बुद्धभूमिमा छ ।

बुद्धभूमिले एकीकृत शिविर मार्फत नगरभरका किसानलाई बाली उपचार शिविर मार्फत किसानलाई सेवा दिदैँ छ । जहाँ वडा वडा तहमा कृषि प्राविधिक पुगेर किसानलाई सेवा दिने गरेका छन् । जसले किसानलाई राहत मिल्ने गरेको छ ।

बुद्धभूमिले खाद्यान्नबाली (धान, गहुँ) को बीउँमा ५० प्रतिशत अनुदानमा वितरण गर्ने छ भने ५० प्रतिशत लागत सहभागितामा च्याउको बीउँ उत्पादन तथा बजारीकरणमा सघाउने छ ।

सामुदायिक वन तथा एलानी जग्गामा फलफूल विरुवा रोपणका लागि विरुवा वितरण गर्न थालेको बुद्धभूमिले भर्मी मल उत्पादन तथा बजारीकरणमा ५० प्रतिशत लागत सहभागितामा सहयोग गर्ने बुद्धभूमि नगरपालिकाको कृषि विकास शाखाले जनाएको छ ।

यस्तै किसान सूचिकरण लगायतका अन्य विगतमा सञ्चालन गरिएका कार्यक्रमलाई पनि नगरपालिकाले निरन्तरता दिएको छ ।

सिमित स्रोतसाधन रहेपनि बढी भन्दा बढी किसानलाई राहत पुग्ने गरी यो बर्षको बजेट बनाइएको नगर प्रमुख श्रेष्ठले बताए । साथै संघ र प्रदेश सरकारबाट पनि कतिपय नयाँ कार्यक्रम कृषि विकासको क्षेत्रमा आएको उनले बताए ।

कृषिको विकास विना मुलुक समृद्ध बन्न नसक्ने भन्दै निर्वाहमुखी कृषि पेशालाई व्यवसायिक बनाउने दिशामा अगाडी बढेको नगर प्रमुख श्रेष्ठले मायादेवी अनलाइनलाई बताए ।

प्रकाशित मिति : १० कार्तिक २०८० शुक्रबार ००:००  ८ : ४३ बजे