४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

स्वदेशी उत्पादन र पर्यटनलाई बढवा दिए अर्थतन्त्र मजबुत हुन्छ : सांसद पन्थी



मायादेवी अनलाइन, बाणगंगा ।

लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले स्वदेशी उत्पादन र आन्तरिक पर्यटनलाई बढावा दिनुपर्ने बताउनुभएको छ । उहाँले जतिसक्दो नेपाली बजार र उत्पादनलाई प्रवर्धन गर्न सवैले आ आफनो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिनुभयो । किन्नैपर्ने विदेशी बस्तु जतिसको लामो समयसम्म उपभोग गरेर अर्थतन्त्र वाहिर जान दिन नहुने तर्क गर्नुभयो ।

‘हाम्रा अत्यावश्यक मोवाईल, ल्यापटप, कम्प्युटर लगाएतका इलेक्ट्रिक सामानहरु खरिद गर्दा नेपाली पैसा बाहिरिएको छ, सांसद पन्थीले भन्नुभयो, ‘स्वदेशी बस्तुको उत्पादन र विक्री वितरणलाई उपभोक्ताले प्राथमिकता दिनुपर्छ ।’

साना किसान कृषि सहकारी संस्था लिमिटेड बाणगंगा ९ भलवाडको २४औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै सांसद पन्थीले आर्थिक स्थिती कमजोर भएको अवस्थामा स्वदेशी उत्पादनमा जोड दिनुपर्ने स्थिति आएको बताउनुभयो ।

लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री समेत भइसक्नु भएका पन्थीले नेपालीहरु वाहिरी देश घुम्न जानुभन्दा नेपालका पर्यटकीय गन्तब्य घुमेर स्वदेशमै पैसा खर्च गर्न आग्रह गर्नुभयो । उहाँले विश्वका मुख्य पर्यटकीय गन्तब्यमा नेपालका धेरै भुभाग भएकाले नेपालमै घुमेर नेपालकै अर्थतन्त्र सुदृढ बनाउनुपर्नेमा पन्थीले जोड दिनुभयो ।

जनताको जीवनस्तर उकास्न सहकारी संस्थाले महत्वपूर्ण भूमिका खेलेको भन्दै सरकारको ३ खम्बे नीति सरकारी, सहकारी र निजी मध्ये सहकारीको माध्यमबाट बिना झन्झट किसानले वित्तिय सहयोग प्राप्त गरेको भन्दै भावी दिनमा साना किसान कृषि सहकारीले आफूलाई बैङकीक प्रणालीमा स्थापित गर्न सफल हुनेमा बताउनु भयो ।

साथै सोही अवसरमा सांसद पन्थीले गएराति जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पमा परी ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धा सुमन प्रकट गर्दै, घाइतेहरुको शिघ्र स्वास्थ्य उपचार र भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारको कार्य अघि बढाउन सरकारसंग माग गर्नुभयो ।

साना किसान बिकास बैंक लघुवित्तीय संस्था बुटवलका प्रवन्धक गणेश भट्टराईले कृषि जन्य उद्योगका लागि र वैदेशिक रोजगारमा जानेलाई सहुलियत दरमा कृषकलाई ऋण प्रवाह गरेको बताउनुभयो । बाणगंगा नगरपालिकाका कृषि शाखा प्रमुख लेष बहादुर केसीले नगरकै अब्बल एबम महत्वपूर्ण सहकारीको रुपमा परिचित भएको बताउदै किसानले कृषिलाई ब्यावसायिक र प्रविधीसंग जोडिएर काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष हरिराज घिमिरे, वडाध्यक्ष कमल पौडेल, प्रदेश कृषि सहकारी संघका सञ्चालक चुरामणि पोख्रेल लगायतले साधारण सभाको सफलताको शुभकामना दिनुभएको थियो ।

साधारण सभामा उत्कृष्ट बिशेष वचतकर्ता, बाल वचतकर्ता, दैनिक बचतकर्ता, साप्ताहिक बचतकर्ता, जनहित बचतकर्ता, मुद्धति बचतकर्ता, समूह बचतकर्ता, असल ऋणि, असल कृषक, सक्रिय अन्तर समूह अगुवा, सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी लगायतलाई खादा ओढाई नगदबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष दिपक वस्नेतले संस्थाको वार्षिक प्रगती प्रतिवेदन वाचन गरेका थिए भने प्रवन्धक मान कुमारी गिरीले आर्थिक वर्ष २०७९/८० को २३ करोड ८२ लाख ४५ हजार बराबरको कारोबार भएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यकम संस्थाका अध्यक्ष दिपक वस्नेतको अध्यक्षता, उपाध्यक्ष वसन्ती थापाको स्वागत, प्रवन्धक मान कुमारी गिरीको सहजीकरणमा भएको थियो । संस्थामा कुल १ हजार ९ सय ५२ शेयर सदस्य आवद्ध छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८० शनिबार ००:००  ६ : १४ बजे