१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अतिक्रमणमा कसैले लोभ नगरौं, बनलाई नीजि सम्पत्ती सरह संरक्षण गरौंः सांसद पन्थी



वाणगंगा, मायादेवी अनलाइन ।
लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले पछिल्लो समय कपिलवस्तुमा बन अतिक्रमण चुनौती बन्दै गएको बताउनुभयो । बन अतिक्रमणमा कसैले पनि लोभ गर्न नहुने बताउदै यसको संरक्षणमा सवै जुट्नुपर्ने आवश्यकता छ, सांसद पन्थीले भन्नुभयो, बनलाई नीजि सम्पत्ती सरहको रुपमा आत्मसाथ गरौं । आफनो व्यक्तिगत सम्पत्ती जति माया लाग्छ, बनलाई पनि त्यसैगरी संरक्षणमा जोड दिउ, पन्थीले भन्नुभयो ।
कपिलवस्तुको मायादेवी साझेदारी बन उपभोक्ता समूह पटनाको ११ औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै सांसद पन्थीले बनजंगल संरक्षण गरे सवै चिजको सन्तुलन मिल्ने बताउनुभयो । स्वर्ग खोज्न वाहिर जानु नपर्ने प्रसंग राख्दै यही धर्ती स्वर्ग हो, यही रमाऔं । प्रत्येक चीजको महत्व छ, सवैको सन्तुलन चाहिन्छ, बन संरक्षणमा जुटौं र अतिक्रमण नगरौं उहाँले भन्नुभयो । हाम्रो होइन, मेरो बन हो भन्ने भावना राखे बनको संरक्षण र सम्वर्धन हुन्छ, यसले सवैलाई आम्दानी दिन्छ, यो सवैको हिस्सा हो ।
वाणगंगा नगरपालिका पटना क्षेत्रमा बढ्दो अतिक्रमण रोक्न सवैको साथ सहयोग चाहिने बताउदै वास्तविक सुकुम्वासीलाई हेर्नुपर्नेमा जोड दिनुभयो । जग्गा अतिक्रमण गर्ने दुखिया हो, जग्गामा लोभ गरेर केही फाइदा छैन, पन्थीले भन्नुभयो, हाम्रो घाटाको कृषि पेशा छ ।
विगतमा प्रदेश सरकारले जग्गा लिजमा लिएर व्यावसायिक प्रवर्धन र कृषिमा पेशालाई प्रोत्साहन गर्दा कोही तयार नभएको र सफलता नमिलेको बताउनुभयो । इजरायल जस्ता मुलुकले कृषि क्षेत्रमा क्रान्ती गरेको भएपनि पनि हाम्रो जस्तो उर्बर भूमि भएको नेपालले कृषि क्षेत्रमा प्रगती गर्न नसकेको सांसद पन्थीले उल्लेख गर्नुभयो ।
वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले समूहले गरिबी न्यूनिकरण, महिला सशक्तिकरण र सामुदायिक विकासको कार्यमा स्थानीय सरकारसंग समन्वय र सहकार्य गरेर जानुपर्ने बताउनुभयो । बनबाट गरिने समुदायीक विकास र सशक्तिकरणमा नगरपालिकासंग सहकार्य गर्दा पारदर्शी र प्रभावकारी हुने बताउनुभयो । बन संरक्षण र व्यवस्थापनमा नगरपालिकाको तर्फबाट आवश्यक सहयोग र भूमिका निर्वाह गर्न सदैव तयार रहेको प्रमुख अर्यालले बताउनुभयो ।
कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले बनमा चोरी निकासी बढिरहेकाले यसको नियन्त्रणमा सवै जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले बनको दिगो व्यवस्थापनमा ध्यान दिई भावी पुस्तालाई पनि बन जोगाइ राख्नुपर्नेमा जोड दिनुभयो ।
डिभिजन बन कार्यालय तौलिहवाका प्रमुख विजयराज सुवेदीले बन समूहको करोडौंको श्रोत पारदर्शी ढंगले नियमअनुसार परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । ऐन, नियम र कार्यविधी अनुसार शिर्षक अनुसार बन संरक्षण र व्यवस्थापनमा पर्याप्त लगानी गरौं, प्रमुख सुवेदीले भन्नुभयो, जसबाट आम्दानी, रोजगारी र समृद्धि हासिल हुन्छ ।
बन सम्वर्धन प्रणाली भनेकै रुख काट्ने, उमार्ने र हुर्काउने काम निरन्तर चलिरहने भएकाले यसको व्यवस्थापन हुन्छ, हामी कार्ययोजना अनुसार तोकेको काम समय अनुसार गर्नुपर्दछ, सुवेदीले भन्नुभयो ।
मायादेवी साझेदारी बन समूहमा बत अतिक्रमण चुनौती छ, बनजंगल मुनी खेती छ, गैर कानुनी छ, बन नमासौं । पटनामा बनमा भएको खेती बन्द र घर खाली गर्नुपर्नेछ, यसका लागि स्थानीय सरकार र समुदायको साथ सहयोग चाहिन्छ, प्रमुख सुवेदीले भन्नुभयो, यहाँ सुकुम्वासी छैनन तर अतिक्रमण भइराछ, अन्यत्र घर भएका व्यक्तिले सुकुम्वासीको नाममा ओगटेको छ । यी सवै कार्यका लागि पनि भूमि अयोग संग पनि समन्वय र सहकार्य भैरहेको उहाँले जानकारी दिनुभयो । एकदमै भूमिहिन सुकुम्वासीलाई कतै व्यवस्थापन गर्ने योजना समेत रहेको बताउदै यसवर्ष खाली गर्ने योजना रहेको बताउनुभयो ।
सव डिभिजन बन कार्यालय पिपराका प्रमुख शिव बहादुर केसीले बनको १० वर्षे कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
वैज्ञानिक बन व्यवस्थापन महासंघका केन्द्रिय अध्यक्ष रेनु सेन, तिलौराकोट साझेदारी बन व्यवस्थापन समूहका अध्यक्ष जयप्रकाश यादवले वैज्ञानिक बन व्यवस्थापन कपिलवस्तुमा सफल भएको बताउदै बन संरक्षणबाट उपभोक्ता, सरकार दुवैलाई फाइदा पुगेको बताउनुभयो ।
कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर प्रवक्ता तथा वडा न. २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेल, शुद्धोधन गाउँपालिकाका २ का वडा अध्यक्ष मनोज कुमार यादव, मायादेवी ३ का वडाध्यक्ष शैलेन्द्र कुमार यादव लगाएतको उपस्थिती रहेको थियो ।
समूहको ११ औं साधारण सभाले १० वर्षे कार्ययोजना पारित गर्दै ९ करोड बराबरको बार्षिक कार्यक्रम पास गरेको छ । मायादेवी साझेदारी बन उभोक्ता समूहका अध्यक्ष ई.दिनेश प्रसाद कलवार जयसवालको अध्यक्षता तथा सदस्य गोविन्द प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०८० आइतबार ००:००  ९ : १७ बजे