११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

नगरलाई चुनौती दिँदै बाणगंगा माविमा अध्यक्ष चयन, प्रध्यानाध्यापकको मनोमानी



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा माविले जवरजस्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गरिएको घोषणा गरेको छ ।

बाणगंगा नगरपालिकाको गजेहडामा रहेको बाणगंगा माविले बहुमतको संज्ञा दिएर अध्यक्ष चयन गरेको घोषणा गरेको हो ।

विद्यालयका प्रध्यानाध्यापक रामप्रसाद भण्डारीले आफ्नै सक्रियतामा बलजफ्ति विद्यालयको अध्यक्ष घोषणा गरेका हुन् ।

विद्यालयमा बलजफ्ति अध्यक्ष घोषणाको तयारी भएपछि बाणगंगा नगरपालिकाले आइतबार तत्काल अध्यक्ष चयनको प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।

औपचारिक पत्र नै पठाएर अध्यक्ष चयन नगर्न भनिएपनि नगरलाई समेत वेवास्ता गर्दै प्रध्यानाध्यापक भण्डारीले कृष्ण कुँवरलाई अध्यक्ष बनाएका छन् ।

भण्डारीको मुख्य भूमिकामा बहुमत सदस्य उपस्थित गराएर कुँवरलाई अध्यक्ष बनाइएको हो । जुन कानुन विपरित भएको बाणगंगा नगरपालिकाको ठहर छ ।

बाणगंगा नगरपालिकाको शिक्षा नियमावली, २०७४ को परिच्छेद ५ विद्यालय व्यवस्थापन सम्बन्धी व्यवस्था, नियम २७ (१) को ३ मा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छनौट नभएसम्मका लागि वा अध्यक्षको अनुपस्थितीमा सम्बन्धित वडाको वडाध्यक्षले बैठकको अध्यक्षता गर्ने छ भन्ने स्पष्ट व्यवस्था छ । तर यसलाई कुल्चदै बाणगंगा माविमा जेष्ठताको आधारमा अध्यक्षतामा बैठक बसी नयाँ समितिको अध्यक्ष बनाइएको हो ।

विद्यालय व्यवस्थापन समितिको पदेन सदस्य समेत रहेका वडाध्यक्ष छविरेस्मी मगरलाई कुनै खबरै नगरी अध्यक्ष बनाएपछि विद्यालय नै विवादमा परेको छ ।

अध्यक्षमा घोषणा गरिएका कुँवरलाई मनोनित गरी अध्यक्ष बनाइएको हो । कानुन विपरित जेष्ठ सदस्य हरि पौडेलको अध्यक्षतामा बैठक बसेर विद्यालय व्यवस्थापन समितिको सदस्यमा कुवँरलाई मनोनितगरे लगत्तै अध्यक्ष बनाइएको हो ।

भण्डारी स्वंयम निमित्त प्रअ रहेको जनाइएको छ । अध्यक्ष बनाउने सन्दर्भमा विवाद भएपछि तत्काल प्रक्रिया अगाडी नबढाउन भनेपनि प्रअ भण्डारीले जवरजस्ती सोमबार बैठक बोलाएका थिए ।

विगत ८ बर्षदेखि विद्यालयमा आर्थिक अनियमितता, निजि शिक्षक भर्ना लगायतमा प्रअ भण्डारीले मनोमानी गरेको आरोप लागेको छ । ८ बर्षदेखि यहाँ विद्यालय व्यवस्थापन समितिको चयन भएको छैन् । यसभन्दा अगाडी वडाध्यक्ष गणेश क्षेत्री विद्यालयको अध्यक्ष भएर काम चलाइएको थियो ।

०७९ मा वडाध्यक्षमा रेश्मी आएपछि प्रअ भण्डारीले जसरी भएपनि आफू अनूकुलको अध्यक्ष बनाउने कसरतमा लागेका थिए ।

वडाध्यक्ष रेश्मीले विद्यालयमा भए गरेका अनियमितताबारे प्रश्न उठाएपछि प्रअ भण्डारी टाढिदै गएका थिए ।

नगरको शिक्षा समितिको निर्देशन विपरित विद्यालय हिडेकाले विद्यालयले कानुनी कठघारामा उभिएर कडा मूल्य चुकाउनु पर्ने नगरका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खिमबहादुर जिसीले बताए ।

प्रकाशित मिति : २० कार्तिक २०८० सोमबार ००:००  ७ : ५१ बजे