१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पालिका बीचको सहकार्यमा साझा समस्यामा एकीकृत योजना बन्न जरुरी : सांसद अधिकारी



मायादेवी अनलाइन, कपिलवस्तु।

कपिलवस्तुका सबै पालिका र सरकारी कार्यालयको गत आवको बार्षिक प्रगति समीक्षा तथा चालु आवको वजेट तथा कार्यक्रम प्रस्तुत गरेका छन् । पहिलो दिन स्थानीय तहको प्रगती र बजेट एवम र कार्यक्रम प्रस्तुत गर्दै छलफल समेत गरिएको थियो भने दोश्रो दिन सरकारी कार्यालयको समीक्षा गरिएको छ ।

जिल्ला समन्वय समिति कपिलवस्तुले २ दिन सम्म आयोजना गरेको सातौं वार्षिक समीक्षा कार्यक्रम संघीय सांसद बलराम अधिकारीको प्रमुख आतिथ्यता तथा समन्वय समिति प्रमुख बाबुराम आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाका १० वटा पालिका र जिल्ला स्थित सबै सरकारी विषयगत कार्यालयहरुको आर्थिक बर्ष ०७९/८० मा गरेका गतिविधिहरुका बारेमा समीक्षा गरिएको हो ।

कार्यक्रममा संघीय सांसद बलराम अधिकारीले जिल्लाका विषयगत कार्यालयहरुले दिने सेवा प्रभावकारी बनाउन सबै कार्यालय प्रमुखहरुलाई आग्रह गर्नुभयो । योजनाहरुको छनौट र कार्यान्वयनमा मातहतका कार्यालयहरुले निरन्तर रुपमा चनाखोपन देखाउनुपर्ने र योजनाहरुमा दोहोरोपना आउन नहुने तर्फ सबै लाग्नुपर्नेमा सांसद अधिकारीले जोड दिनुभएको थियो ।

सांसद अधिकारीले पालिका बीचको समन्वयमा बिकासका साझा समस्यामा एकीकृत योजना बन्न जरुरी रहेको बताउनु भएको थियो । पालिका पालिका बिचको सहकार्यमा जिल्लाका महत्वपूर्ण गौरबका योजना अघि बढाउन सुझाब दिनुभयो ।

राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले कपिलवस्तुको बिकासमा सबै राजनीतिक दल एकतासाथ अघि बढ्नु पर्ने बताउनु भयो । कपिलवस्तु मानवीय बिकासका सूचकमा पछि परेकाले यहाँका पछाडी पारिएका समुदाय, महिला, बालबालिका, सिमान्तकृत, अल्प संख्यक समुदायको आर्थिक सामाजिक अवस्था बदल्न तिनै तहका सरकार गम्भीर भै प्रभावकारी समन्वयको आवश्यकता देखिएको घिमिरेले बताउनुभयो ।

संघीय सांसद मंगलप्रसाद गुप्ताले कार्यक्रमलाई सम्बोधन गर्दै भौतीक पूर्वाधारका क्षेत्रमा काम गर्ने कार्यालयले शुसासन युक्त तवरले काम गर्न आग्रह गर्नुभयो । उहाँले बहादुरगंज स्थित शिवराज अस्पतालको पछिल्ला अवस्थाको बारेमा निराशाजनक स्थिती रहेको तर्फ सम्बद्ध सरोकार राख्ने कार्यालयलाई ध्यानाकर्षण समेत गराउनु भएको थियो ।

प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले बिगतका दिनहरुमा लक्ष्य अनुसार सम्पन्न भएका कार्यक्रमहरुको लक्ष्य हासिल भए भएनन् र आगामी दिनहरुका लागि कस्ता लक्ष्यहरु पुरा गर्न खोजी रहेका छौ भन्ने बिषय यी कार्यक्रमहरुबाट नै जानकारी हुने भएको हुँदा जिल्लाका सम्पूर्ण पालिकाहरु तथा बिषयगत कार्यालयले समन्वयकारी भूमिकालाई अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी भूमिराम पोखरेलले ०७९/८० मा भएका प्रगती बिवरण प्रस्तुत गर्नु भएको थियो ।कपिलवस्तु जिल्लामा ३४ वटा संघ अन्तर्गतका कार्यालय छन् भने १७ वटा प्रदेश अन्तर्गतका कार्यालय छन् । समिक्षा कार्यक्रममा अधिकांश कार्यालयहरुका प्रमुखहरुले बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, नवराज लामिछाने, १० वटै पालिकाका प्रमुख उपप्रमुख, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, प्रमुख प्रशासकीय अधिकृत, अन्य सरकारी कार्यालयका प्रमुखहरु, संचारकर्मीहरु लगाएतको उपस्थिती रहेको थियो । जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यको अध्यक्षता, उपप्रमुख रमेश कुर्मीको स्वागत तथा जिल्ला समन्वय अधिकारी भूमिराम पोख्रेलको संचालनमा सम्पन्न भएको थियो ।

जिसस प्रमुख आचार्यले सहभागिताको लागि सबैलाई धन्यवाद दिदै हरेक कार्यालयले कार्यक्रमको पारदर्शिता गुणस्तर र प्रभावकारीतामा जोड दिनुपर्ने बताउंदै अन्तर सरकारी कार्यालय बीचको समन्वय आवस्यकता भएको बताउनुभयो ।

प्रकाशित मिति : २१ कार्तिक २०८० मंगलबार ००:००  ११ : ०४ बजे