१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भलवाडमा रातको १० बजेसम्म देउसी–भैलो खेल्न पाइने



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा तिहारमा हुन सक्ने सम्भावित जोखिम न्युनिकरणका लागि चारबुँदे निर्णयका साथ त्यसको कार्यान्वयनमा जोड दिइएको छ ।

शुक्रबार वडा कार्यालयको सभाहल जिनुवामा आयोजित सर्वपक्षीय बैठकबाट नेपालीहरुको दोस्रो महान पर्व तिहारको शुभकामना आदानप्रदानसँगै तिहारलाई आपसी सद्भावको पर्वका रुपमा मनाउने निर्णय गरिएको हो ।

बैठकले तिहारका बेला रमाइलोका नाममा पटका र पटकाजन्य पदार्थको प्रयोग नगर्न वडाबासीलाई आग्रह गरेको छ भने व्यवसायीहरुले त्यस्ता वस्तुको विक्रिवितरण नगर्न भनिएको छ ।

यस्तै दिपावली (तिहार) को अवसरमा खेलिने देउसी भैलो कार्यक्रम राति १० बजे पछि खेल्न नपाइने निर्णय भएको वडा अध्यक्ष कमल पौडेलले बताए । बैठकले उक्त निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेका कारण देउसी भैलोका कार्यक्रम राति १० बजेसम्म मात्रै संचालन गर्न पनि उनले आग्रह गरेका छन् ।

यस्तै देउसी भैलो कार्यक्रममा दान दाताले आफ्नो इच्ता अनुसार दिएको दान दक्षिणालाई स्विकार गरी कुनै दबाब सिर्जना नगर्न पनि आग्रह गरिएको छ । यस्तै वडा नम्बर ९ अन्र्तगत पर्ने मुख्य सडकखण्ड (बनगाइ–डोहोटे) र वडा भित्रका भित्री सडकहरुका छेउछाउमा रहेका विभिन्न सामग्रीहरु सम्बन्धित सामग्री धनीले मंसिर मसान्तसम्म अनिवार्य हटाउन आग्रह गरिएको छ । यस्तै सडक किनारमा पशु चौपाया नबाध्न पनि आग्रह गरिएको वडा सदस्य चुरामणी अर्यालले जानकारी दिए ।

बैठकमा वडा अध्यक्ष कमल पौडेलसहित वडा सदस्यहरु, वडा नम्बर ९ भित्रका विभिन्न राजनितिक दलका प्रतिनिधि, समाजसेवी, टोल विकास संस्थाका अध्यक्षहरु, सामुदायिक वनका प्रतिनिधिहरु, पत्रकार, सुरक्षाकर्मी, युवा क्लवका अध्यक्षहरु लगाएतको उपस्थिति रहेको थियो ।

उक्त बैठकका निर्णयहरुलाई यथोचित कार्यान्वयन गर्ने विषयमा उपस्थित सरोकारवालाहरु प्रतिबद्ध रहेको बताएका छन् । वडाले तिहारको अवसरमा शुभकामना आदान प्रदानसँगै सबै पक्षका व्यक्तिहरुको उपस्थितिमा साझा धारणा बनाउने वातावरण तयार गरेको भन्दै राप्रपा केन्द्रिय सदस्य धुव्र रायमाझीले धन्यवाद दिएका थिए । यहाँको विकासका सवालमा पनि सबै पक्षलाई जोडेर जान पनि उनले वडा कार्यसमितिलाई आग्रह गरेका छन ।

यसबाहेक बैठकमा उपस्थित विभिन्न निकायका व्यक्तिहरुले वडा नम्बर ९ का विभिन्न क्षेत्रका विकासका सवालहरुलाई उठाएका थिए । खासगरी नदिजन्य पदार्थको चोरी तस्करी न्यूनिकरण, सडक विस्तार र निर्माणमा हुने आपसी समन्वय, लगाएतका विषयमा वडा कार्यसमितिले ध्यान दिन सुझाव समेत दिएका छन् ।

बैठकमा उठेका सवालहरुलाई वडा कार्यासमितिले आवश्यकता अनुसार सर्वपक्षीय वा सर्वदलीय बैठक तथा आपसी समन्वयका साथ काम गर्ने वडा अध्यक्ष कमल पौडेलले प्रतिबद्धता जनाएका थिए । यस्तै वडा सदस्य चुरामणी अर्याल, नेपाली कांग्रेस वडा प्रतिनिधि हरिबहादुर खनाल, नेकपा एमाले वडा प्रतिनिधि बिन्द्रबहादुर गुरुङ लगाएतले बैठकलाई सम्बोधन गरेका थिए । बैठक बाबुराम रायमाझीको सहजिकरणमा सम्पन्न भएको हो ।

बैठकमा भएका निर्णयहरुलाई कार्यान्वयन गर्न गराउन वडा कार्यालयले एक सूचना समेत जारी गरेको छ भने टोल विकास संस्थाहरुको माध्यमबाट ती निर्णयको अनिवार्य कार्यान्वनका लागि निर्देशन समेत गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८० शुक्रबार ००:००  ८ : ०९ बजे