१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सिंचाईमा लगानी बढाएर कपिलवस्तुमा कृषिको उत्पादन बढाउने हो : कृषि मन्त्री



मायादेवी अनलाइन, कपिलवस्तु ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले कपिलवस्तुमा सिंचाई सुविधा विस्तारमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

जिल्लामा खेतीयोग्य जमिन प्रयाप्त रहेपनि भरपर्दो सिंचाई सुविधा नभएको भन्दै अब सिंचाई सुविधा विस्तारमा लाग्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई कपिलवस्तुको ५० प्रतिशत अनुदान सहयोगबाट मायादेवी गाउँपालिका वडा नं. ५ बलुहवामा निर्मित भण्डारणसहितको चिउरा मिलको शनिबार उद्घाटन गर्दै मन्त्री भुसालले जिल्लामा सिंचाईको अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनासहित सिंचाई सुविधा विस्तार गर्नुपर्ने बताउनुभयो ।

जिल्लाको पूर्वी भेगमा बाणगंगा नदी, कोठी नदी लगायतबाट बाँध बाँधेर दक्षिणी क्षेत्रसम्म सिंचाई सुविधा विस्तार गर्नुपर्ने बताउनुभयो । साथै दशकौ देखिको राप्ति ड्राइभर्सनको सपना अब पूरा गर्नुपर्ने बताउनुभयो ।

यी दीर्घकालिन योजना भएपनि अब काम गरेर देखाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

तत्कालका लागि जिल्लामा साना सिंचाई मार्फत खेती गर्नुपर्नेमा उहाँको जोड थियो । साना नहर तथा कुलोको स्तरउन्नति, डिप बोरिङ निर्माण, स्यालोट्युवेल मार्फत सिंचाई गर्नुपर्ने मन्त्री भुसालले बताउनुभयो ।

सिंचाइको प्रबन्ध गरेमात्र धान उत्पादनमा वृद्धि गर्न सकिने उहाँको तर्क छ । बर्षेनी चामलको आयात बढिरहेको भन्दै अब सरकारले चैते धान प्रबर्धनमा जोड दिएको उहाँले जानकारी दिनुभयो । यो बर्ष मन्त्रालयले चैते धानको खेती विस्तारमा जोड दिएको उहाँले बताउनुभयो । त्यसका लागि साना सिंचाई, मल र बीउमा किसानलाई सघाउने योजना उहाँले सुनाउनुभयो ।

कृषिको उत्पादन वृद्धिका लागि यान्त्रिकीकरण र उन्नत बिउमा जोड दिनुपर्नेमा उहाँले जोड दिनुभयो । उत्पादन लागत घटाउनका लागि नयाँ नयाँ कृषि उपकरणको प्रयोग गर्न किसानलाई आग्रह गर्नुभयो । तीन वटै सरकारले कृषिको यान्त्रिकीकरणमा सघाउँदै आएको समेत बताउनुभयो । उन्नत बिउका लागि नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले विभिन्न काम गरिरहेको बताउनुभयो । देश गहुँको बिउमा आत्मनिर्भर रहेपनि अरु बिउमा अझै आत्मनिर्भर हुन नसकेको भन्दै अब त्यता तिर मन्त्रालयको विशेष चासो रहेको उहाँले सुनाउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निर्देशक विनोद भट्टराईले कृषिको उत्पादन वृद्धिमा परियोजनाले विभिन्न जिल्लामा काम गरिरहेको बताउनुभयो । कपिलवस्तुमा धान सुपरजोन, माछा र तरकारी जोन मार्फत कृषिको उत्पादन वृद्धिमा काम गरिरहेको जानकारी दिनुभयो । हरेक बर्ष किसानका लागि विभिन्न बजेट मार्फत किसानलाई सहयोग गरिरहेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल लगायतले बोल्दै बलुहवामा निर्माण भएको चिउरा मिलले यहाँका किसानलाई प्रत्यक्ष फाइदा पुग्नेमा जोड दिनुभएको थियो ।

आव ०७९।०८० मा परियोजना कार्यान्वयन एकाई कपिलवस्तुले यहाँ ग्रीन नेपाल कृषक समूह मार्फत भण्डारणसहितको चिउरा मिल स्थापना गरेको परियोजनाका कपिलवस्तु प्रमुख सहसराम चौधरीले बताउनुभयो । परियोजनाले यस चिउरा मिलमा रु १९ लाख १९ हजार अनुदान सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ मंसिर २०८० शनिबार ००:००  ८ : ०१ बजे