१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गोरुसिंगेमा दोस्रो बुद्धभूमि महोत्सव सुरु



मायादेवी अनलाइन, बुद्धभूमि ।

कपिलवस्तुको गोरुसिंगेमा दोश्रो कृषि, उद्योग, तथा पर्यटन महोत्सव सुरु भएको छ ।

स्थानीय उत्पादनको प्रचार, प्रसार र प्रवद्धनमा टेवा दिने उदेश्यले होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ कपिलवस्तुले विहीबारबाट महोत्सव सुरु गरेको हो ।

महोत्सवको उद्घाटनसत्रमा आयोजकले बाक्लो दर्शक उतारेको छ । महोत्सवमा ठाउँठाउँबाट दर्शकको सहभागिता रहेको थियो । महासचिव पदम ढकालले पहिलो दिनको जनसहभागिताले आफूहरुको हौसला बढेको बताए ।

उनले भने ‘सोँचेभन्दा बढी दर्शकको सहभागिता रह्यो उद्घाटनमा । बुद्धभूमिबासीले यतिधेरै माया गर्नुभयो कि हामीले यस्तो भव्यताको आशा गरेका थिएनौँ । पहिलोदिनले महोत्सव सफल हुनेमा थप विश्वास थपेको छ ।’

स्थानीय उत्पादन र ब्यापारको प्रवद्धनको लागि सुरु भएको महोत्सवको नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले उद्घाटन गरेका थिए ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री आचार्यले स्थानीय कला संस्कृति र पर्यटनको संरक्षण संवद्धन गर्न महोत्सव सफल हुने विश्वास ब्यक्त गरे ।

पहिलो दिनको सहभागिताबाट आफू पनि खुसी भएको बताउँदै आफूले पनि सहयोग गर्ने बताए । यस्तै बुद्धभूमि नगरपालिकाका नगरप्रमुख तथा विशिष्ट अतिथि केशव कुमार श्रेष्ठले पनि स्थानीय कला, संस्कृति र ब्यापार प्रवद्धनमा महोत्सव महत्वपूर्ण भएको बताएका थिए ।

महोत्सव संयोजक तथा संघका अध्यक्ष लेखनाथ घर्तीले पहिलो दिनमा दर्शकले दिएको माया बिर्सन नसक्ने बताए । महोत्सवको अध्यक्षता गरेका उनले अन्तिमसममै सबैको सहयोग हुने विश्वास ब्यक्त गरे । महोत्सव मङ्सिर १४ देखि २४ गते सम्म संचालन हुँदै छ।

प्रकाशित मिति : १५ मंसिर २०८० शुक्रबार ००:००  ७ : ३१ बजे