१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

घरजग्गा बन्धकी राखेर रुस उडेका थिए कपिलवस्तुका रूपक



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–१ मन्द्रेलीटोलका २४ वर्षीय रूपक कार्की २०७९ जेठ २५ गते काठमाडौंबाट रुसका लागि उडेका थिए । बागबजारको ड्रिम इन्टरनेसनल कन्सल्टेन्सीमार्फत उनी वैदेशिक रोजगारी र अध्ययनका लागि रुस गएको पिता मानबहादुरले बताए ।

‘आफन्तको सहयोग र घरजग्गा बन्धकी राखेर गएको थियो,’ उनले भने, ‘१० लाखभन्दा बढी त खर्च नै भएको थियो । अहिले अचानक विपत्को घटना सुन्दा सबै कुरा लुटिएजस्तो भएका छौं ।’

आर्थिक अवस्था ज्यादै कमजोर भएको परिवारमा यस्तो घटना हुँदा अहिले शोक छाएको छिमेकी धातानन्द भुसालले बताए । रूपक परिवारका एक्ला छोरा हुन्, उनकी एक बहिनी छन् । रूपकसँगै रुस पुगेका उनका एक साथीका अनुसार जुन अन्तिम साता भएको लडाइँमा परी उनको मृत्यु भएको हो ।

झन्डै एक वर्ष सँगसँगै कलेज गएको र पार्टटाइम काम गरेको उनले सुनाए । रुसी सेनामा भर्ती खुलेको जानकारी पाएपछि दुवै जनाले सँगै दरखास्त हालेर भर्ती भएको उनको भनाइ छ । ‘म घाइते भएर सेनाको अस्पतालमा उपचाररत छु,’ उनले भने, ‘उसको ज्यानै गयो । सेनाको निगरानीमा रहेकाले धेरै कुरा बोल्न मिल्दैन ।’ -इकान्तिपुरबाट

प्रकाशित मिति : १९ मंसिर २०८० मंगलबार ००:००  १२ : ०३ बजे