११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

चन्द्र भण्डारी भन्छन्ः दलहरुको पुर्नंसरचना नभए सिद्धिन्छन्



कपिलवस्तु ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं चर्चित नेता तथा सांसद चन्द्र भण्डारीले लामो इतिहास र ठूलो योगदान भएका दलहरुको पुनरसंरचना नभए सिद्धिनुको विकल्प नरहेको बताएका छन् ।

भण्डारीले नेपालका हरेक राजनैतिक दलहरुले अब बाटो परिवर्तन गर्न आवश्यक रहेको बताए ।

१४औँ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै भण्डारीले यस्तो धारणा राखेका हुन् ।

राजनैतिक दल र ती दलका नेताहरुको काम बाट जनताका जनअपेक्षाहरु पुरा हुन नसकेको भन्दै अब पनि नेताहरु नसुध्रिए जनताबाट गलत नेताहरुको विरुद्ध ठूलो विद्रोह हुने बताए ।

भण्डारीले पछिल्लो समय देशको अर्थतन्त्र बिग्रिएको अवस्थामा बैंकहरुको व्याजदर ८ प्रतिशतबाट १६ प्रतिशत सम्म पुग्दा किसान र उद्योगीहरु बढी समस्यामा परेको औल्याउदै जनताको समस्यामा राज्य मौन बस्ने हो भने त्यो राज्य किन चाहियो भनेर उहाँले प्रश्न गरे ।

भण्डारीले हाल महोत्सव लागिरहेको बुद्ध रङ्गशालामा आवश्यकताको आधारमा भौतिक संरचना बनाएर खेलको विकास गर्नुपर्ने बताए । पछिल्लो समय नेपाली खेलाडिहरुले विश्वभर नाम कमाई रहेको भन्दै खेल क्षेत्रको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

यता प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले जिल्लाको अर्थतन्त्रलाई चलायमान गराउनको लागि कपिलवस्तु महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताए । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रलाई प्रवद्र्धन गर्दै अर्थतन्त्रलाई माथि उठाएको बताए ।

त्यस्तै काङ्ग्रेस नेता अत्तहर कमाल मुसलवानले जिल्ला धार्मिक तथा पर्यटकीय हिसाबले पनि ऐतिहासिक रहेकाले पर्यटकहरुको सङ्ख्या बढाउने गरि योजना बनाउनुपर्ने बताए ।

त्यस्तै जिल्लाको समग्र विकासको लागि वेलफेयर सोसाइटीका जस्ता जुझारु युवा नेताहरुको आवश्यकता रहेकोमा जोड दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै सांसद रुपा पोख्रेल, प्रदेश सांसद विष्णु पन्थि, बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल लगायतले बोल्दै महोत्सवले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न मद्दत पुग्नेको बताए ।

त्यस्तै महोत्सव संयोजक तथा आयोजक संस्था बाणगंग वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले जिल्लाको समग्र पहिचान बोकेको यस महोत्सवलाई सफल पार्न हरेक क्षेत्रका व्यक्ति र संघसंस्थाले सहयोग गरेको बताए । खाँणले जिल्लाको पर्यटन प्रर्वधन गर्ने महोत्सवको लक्ष्य रहेको बताउनुभयो ।

युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन’ भन्ने मूल नाराका साथ विहिबार देखि सुरु भएको महोत्सव पौष १ गते सम्म सञ्चालन हुने छ ।

महोत्सवमा करिव २५० ब्यवसायिक स्टल तथा ५० भन्दा बढि प्रदर्शन स्टलहरु रहेका छन् । करिव ५ करोडको ब्यवसायिक कारोबार हुने र ढाई लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेका छन् ।

बाणगंगा वेयलफेयर सोसाइटीका अध्यक्ष तथा महोत्सवका संयोजक राजकुमार खाँणको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निर्देशक बुद्धि बहादुर रोकाहाले गरेका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०८० बिहिबार ००:००  १० : १९ बजे