१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सुरही खोलामा बन्यो ३ सय ६० मिटरको पुल, मन्त्री ज्वालाले गरे उद्घाटन



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको पूर्व पश्चिम महेन्द्र राजमार्गको शिवराज कोलोनी हुँदै बानियाँभार– भगवानपुर सडक जोड्ने सुरही खोलामा बनेको पुलको उद्घाटन गरिएको छ ।

शनिबार एक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पुलको उद्घाटन गरेका हुन् ।

टुण्डी कन्ट्रन्सन प्रालि ललितपुरले बनाएको पुलको लम्बाई ३ सय ६० मिटर रहेको छ । ०७७ चैत्र १२ गते सम्झौता भई ०८२ असोज १२ गते सकाउने उद्धेश्य रहेपनि निर्माण कम्पनी टुण्डीले समय अगावै पुल निर्माण सकाएको हो ।

गत असोज ९ गते नै पुल बनेको भएपनि शनिबार मात्र पुलको औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको हो । साविक शिवगढी गाविस हालको शिवराज नगरपालिका वडा नं. ९ पुग्न सकिने यो पुल त्यस क्षेत्रमा ‘लाइफ लाइन’का रुपमा रहेको छ । हुलाकी राजमार्ग र महेन्द्र राजमार्गसँग यो पुलले जोड्ने काम गर्छ ।

नेपाल सरकारको लगानीमा ४६ करोड १५ लाखमा निर्माण कम्पनीसँग पुल बनाउने ठेक्का सम्झौता भएपनि ४५ करोड ८८ लाखमा निर्माण कम्पनीले सरकारबाट भुक्तानी माग गरेको छ ।

सडक विभाग अन्तर्गत पुल महाशाखाको पुल सेक्टर नेपालगञ्जको संलग्नतामा भएको पुल निर्माणको काम भएको हो ।

प्रकाशित मिति : ३० मंसिर २०८० शनिबार ००:००  ३ : ४८ बजे