८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

बुटवल-गोरुसिङ्गे-चनौटा सडक विस्तारको ठेक्का केही दिनमा हुँदै



काठमाडौं।
पूर्व-पश्चिम राजमार्गको बुटवल-गोरुसिङ्गे-चनौटा सडक विस्तारका लागि केही दिनमा टेन्डर प्रक्रिया सुरु गरिने भएको छ। सडक विभाग अन्तर्गतको वैदेशिक महाशाखाले यो आयोजनाको पहिलो खण्डको छिट्टै टेन्डर प्रक्रियामा जाने गरी तयारी गरेको छ।

पहिलो खण्ड बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटरसम्को डिजाइन सम्पन्न भएर ठेक्का आह्वान प्रक्रिया अगाडि बढेको विकास सहायता कार्यान्वयन महाशाखाका सीडीई त्रिलोकनाथ घिमिरेले बताए। उनका अनुसार अबको केही दिनमा टेन्डर प्रक्रियामा जाने तयारी गरिएको छ।

यो खण्डको डिजाइन तयार भइसकेको छ। एसियाली विकास बैंक (एडीबी) को सहयोगमा बनेको सो डिजाइन स्वीकृत समेत भइसकेको छ। डिजाइन विश्व बैंकले समेत ‘नो अब्जेक्सन’ भनेर उत्तर पठाइसकेको आयोजना प्रमुख राधिका प्रजापति श्रेष्ठले बताईन। उनका अनुसार त्यही विश्व बैंकको ‘नो अब्जेक्सन लेटर’को पर्खाइमा विभाग थियो। यो सडक निर्माणका लागि एडीबीसँगको समन्वयमा डीपीआरको काम सम्पन्न भएको हो।

आयोजनाले पहिलो खण्डलाई पनि दुई खण्डमा विभाजन गरी ठेक्का प्रक्रिया अगाडि बढाउने उनले बताईन। यो सडकको पहिलो खण्ड बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटरको दुरीमा छ। यसलाई दुई खण्डमा गरी ठेक्का आह्वान गरिने उनी बताउँछिन।

‘यस्तै पहिलो खण्ड शुन्यदेखि ५० किलोमिटरसम्म हुनेछन्। यसलाई दुई वटा खण्डमा गरी एकै पटक टेन्डर आह्वान गरिन्छ,’ उनले भनिन्, ‘त्यही अनुसार डिजाइनदेखि सबै कुरा निर्माण गरेर पेपर वर्कमा धमाधम काम भइरहेको छ। अबको एक हप्तामा यसको ठेक्का आह्वान हुन्छ।’

यो पहिलो खण्डको सडक विस्तारमा लगभग ३० वटा सानाठूला पुलहरु पनि निर्माण हुने उनले बताईन्। यस्तै विभिन्न स्थानहरुमा १५५ वटा कल्भर्टहरु र ६ वटा अन्डरपास र ओभरपासहरु पनि निर्माण हुनेछन्। यस्तै ठेक्का लगाएको ३ वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता प्रक्रिया अगाडि बढ्ने श्रेष्ठले बताईन्।

सरकारले पूर्व-पश्चिम राजमार्ग विस्तारको कामलाई प्राथमिकतामा राख्दै यो वर्षको लागि ३० अर्बभन्दा बढी बजेट छुट्याइएको छ। यो खण्डको आयोजनाको लागि भने ३ अर्ब रुपैयाँ बजेट छुट्याइएको आयोजनाले जनाएको छ।

बहुवर्षीय योजनाअनुसार यो सडक आयोजनामा निर्माण हुनेछ। यसमा दुईवटा खण्ड रहेका छन्। जसमा एउटा बुटवलदेखि चनौटासम्मको सडक चारलेनमा विस्तार गर्ने र अर्को तिनाउमा सिग्नेचर ब्रिज निर्माण गर्ने रहेको छ।

यो आयोजना लगभग ४० अर्ब लागतको हो। गत जेठको अन्तिम सातादेखि यसको निर्माण प्रक्रियाको आधिकारिक रुपमा थालनी गरिएको थियो। विश्व बैंकको सहयोगमा यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना (एक्सेस) मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिनज राइजरले यो आयोजनाको शुभारम्भ गरेका थिए।

आयोजनाको लागत २७ करोड ५० लाख डलर अर्थात नेपाली रुपैयाँमा लगभग ३५ अर्ब रुपैयाँ हो। यो आयोजनाले नेपालमा छानिएका व्यापारिक कोरिडोरमा व्यापार, यातायात लागत र पारवहन समय घटाएर व्यापार र आवद्धता सुधार गर्ने विश्व बैंकले जनाएको छ।

यसको सन् २०२२ सेप्टेम्बर १८ मा नेपाल सरकार र विश्व बैंकबीच हस्ताक्षर भएको थियो। यसमा नेपाल पक्षले करिब ४ अर्ब लगानी हुनेछ। र, बाँकी सबै विश्व बैंकले ब्योहोर्नेछ।

दुई लेनमा रहेको पूर्व-पश्चिम राजमार्गलाई अहिले धमाधम स्तरोन्नति गर्ने काम भइरहेको छ। यसबाट सडकमा यात्रा गर्ने समय ३० प्रतिशतले घटाउने अपेक्षा गरिएको छ। जसका कारण भारतको पश्चिमी बन्दरगाहसम्म नेपालको पहुँच सहज हुने छ।

बंगलादेश-भुटान-भारत-नेपाल सडकअन्तर्गत महेन्द्र राजमार्गमा पनि पर्ने यो सडक खण्ड यसभन्दा अघि पनि विश्व बैंककै ऋण सहुलियतमा निर्माण भएको थियो। हाल यही सडकलाई विश्व बैंकको सहयोगमा विस्तार गर्न लागिएको हो। आयोजनामा पार्क लगायत सहरी विकासका विभिन्न पूर्वाधार पनि सडकसँग निर्माण गर्ने योजना तथा डिजाइन छ।

गोरुसिङ्गे-चनौटा सडकखण्डको पनि डिजाइन निर्माण हुँदै

बहुवर्षीय योजनाअनुसार यो सडक आयोजनामा निर्माण हुनेछ। यस्तै दोस्रो खण्डमा तिनाउमा सिग्नेचर ब्रिज निर्माण गर्ने रहेको छ। अहिलेसम्म उक्त खण्डको परामर्शदाता छनोट प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। यसमा सम्झौता मात्र भएको श्रेष्ठले बताईन।

गोरुसिङ्गे-चनौटा सडकखण्डको १९ किलोमिटरका लागि विस्तृत इन्जिनियरिङ सर्भेक्षण र स्तरोन्नतिको डिजाइन गर्न र सोही खण्डमा वातावरण मूल्यांकनका लागि स्तर वृद्धि कार्य गर्न तथा सडक र पुलसमेत काम गर्न निर्माण पर्यवेक्षकका लागि विभिन्न ८ वटा परामर्शदाता कम्पनी सर्टलिस्टमा परेका थिए।

उनका अनुसार एलईए एशोसियट्स साउथ एसिया आयोजनाको सुपरभिजन र डिजाइनका लागि छनोट भएको थियो। त्यही अनुसार यो परामर्शदातासँग सम्झौता भएको छ। यो परामर्शदातालाई ८ वर्षको लागि आयोजना हेर्न जिम्मेवारी हुनेछ।

त्यसका लागि आयोजनाले परामर्शदातालाई नेपाल सरकारले ३२ करोड ४२ लाख ६४ हजार रुपैयाँ र विश्व बैंकले करिब १६ करोड गरेर कुल ४८ करोड ९७ लाख ८५ हजार रुपैयाँ दिइनेछ।

श्रेष्ठका अनुसार केही समयमा परामर्शदातासँग सम्झौता गरेर गोरुसिङे-चनौटाको १९ किलोमिटर सडकको डिजाइनको काम सुरु हुन्छ। सम्झौता भएको मितिले ७ महिनाभित्र परामर्शदाताले डिजाइनको काम सक्नुपर्ने उनले बताईन।

परामर्शदाताले बुटवल-गोरुसिंगेसम्मको सडक निर्माणको अनुगमनको काम गर्नेछ। निर्माणको तीन वर्षको अवधि र निर्माण सम्पन्न भएको ५ वर्षको मर्मतको कामहरु पनि यसै परामर्शदाताले हेर्नेछ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत हालको तिनाउ पुल जीर्ण हुँदै गएको र बुटवल क्षेत्रको सवारी चाप समेत अत्यधिक बढेका कारण नयाँ ‘सिग्नेचर ब्रिज’ निर्माणका लागि दुई वर्ष अघिबाट तयारी थालिएको थियो।

यो बुटवल-चनौटा सडक विस्तार भएपछि पुरानो पुलले सवारी साधनको चाप नथाम्ने भएका कारण पनि उक्त पुल निर्माण गर्न लागिएको हो।

प्रकाशित मिति : ४ पुस २०८० बुधबार ००:००  ८ : ५२ बजे