१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शुद्धोधन वडा नम्बर २ बालविवाह तथा छुवाछुत मुक्त घोषणा



कपिलवस्तु, मायादेवी अनलाइन ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर २ बालविवाह तथा जातीय छुवाछूत मुक्त घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, जनप्रतिनिधि तथा सरोकारवाला निकायले बालविवाह र छुवाछुत सामाजिक तथा कानुनी अपराध भएकाले यसको अन्त्य हुनुपर्ने प्रतिबद्धता गर्दै हस्ताक्षर गरेर वडालाई बालविवाह र छुवाछुत मुक्त घोषणा गरिएको हो ।
घोषणा सभामा बोल्दै सभामुख घर्ती मगरले बालविवाह तथा छुवाछुतलाई कानुनले बर्जित गरेपनि समाजमा अझै पनि विद्यमान रहेको बताउनुभएको छ । वडा हुदै गाउँपालिका घोषणासँगै व्यवहारमा कार्यान्वयन गर्न समुदायलाई सचेत गराउन आवश्यक भएको उहाँले बताउनुभयो । “अब बालबालिकालाई मात्र होइन बुवा आमालाई पनि सचेत गराउनुपर्छ । कुरीतिलाई जरैबाट हटाउन विद्यालयमा अतिरिक्त पाठ्यवस्तु समावेश गरेर बालविवाह र छुवाछुत अन्त्य गर्न जरुरी छ,” सभामुख घर्ती मगरले भन्नुभयो ।
घोषणा समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य मधुसूदन शरण चौधरी, लुम्बिनी प्रदेश पूर्व मन्त्री सहसराम यादव, जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश आचार्यले मधेसमा सामाजिक सशक्तिकरणले सकरात्मक परिवर्तन ल्याएको बताउनुभयो । पालिकाका दुई वडामा बालविवाह र छुवाछुत मुक्त अभियान सफल भएको गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले बताउनुभयो । उहाँले छुवाछुत भन्ने कुरा समाजले सिर्जना गरेकाले यसलाई अन्त्य गर्न सम्भव भएको बताउनुभयो ।
यस्तै, गतवर्ष शुद्धोधन गाउँपालिका वडा नम्बर १ बालविवाह तथा छुवाछुत मुक्त घोषणा गरिएको थियो । तीन वर्षभित्र गाउँपालिका बालविवाह र छुवाछुत मुक्त घोषणा गर्ने अभियान सञ्चालन गरिएको अध्यक्ष चौधरीको भनाइ छ ।
पालिकाको २ नम्बर वडा कार्यालय, बालविवाह तथा छुवाछुत विरुद्धको निगरानी समिति, किशोरकिशोरी सञ्जाल तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको अगुवाइमा बालविवाह तथा छुवाछुत मुक्त वडा घोषणा भएको वडा अध्यक्ष मनोज कुमार यादवले बताउनुभयो । वडामा २०१९ मा १० प्रतिशत बालविवाहको तथ्याङ्क थियो ।
अघिल्लो वर्ष २ प्रतिशत र चालु वर्षमा बालविवाह शून्य रहेको सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक धनेश्वरी घर्तीले बताउनुभयो । किशोरकिशोरी समूहको सक्रियतामा गत वर्ष जन्ती आएको विवाह रोक्न सफल भएको किशोर किशोरी सञ्जालका सदस्य पुनम थारुले बताउनुभयो ।
आईएम स्वीडिस डेभलपमेण्ट पार्टनरको सहयोगमा सिद्धार्थ सामाजिक विकास केन्द्रले विगत ५ वर्षदेखि रुपान्तरण कार्यक्रम शुद्धोधन र मायादेवी गाउँपालिकामा संचालन गर्दै आएको थियो । सन् २०१९ जनवरी देखि २०२३ डिसेम्बरको अन्त्य सम्म लक्षित समूदायको सशक्तिकरण, गुणस्तरीय शिक्षा, जिविकोपार्जन र अधिकारका लागि विभिन्न समूह, संरचना तथा पालिकासंग सहकार्य गर्दै लक्ष्य हासिल गरेको संस्थाका नीति सल्लाहकार पोमनारायण पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० पुस २०८० मंगलबार ००:००  ८ : ५६ बजे