२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

उद्योगीका समस्या समाधानमा प्रतिवद्ध छु : मन्त्री थापा



कपिलवस्तु पुस १३ गते ।

लुम्बिनी प्रदेशमा उद्योग तथा यातायात मन्त्री सरोज थापा (रोज राणा) ले उद्योगीका समस्या समाधान गर्ने बताउनु भएको छ । आठौँ चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव २०८० को समुद्घाटन गर्दै मन्त्री थापाले आर्थिक अवस्था चलायमान नहुँदा उद्योगीलाई समस्या भएको बताउँदै उद्योग सञ्चालन हुुने अवस्था ल्याउन र बैंक कर्जाका समस्या समाधान गर्नका लागि उद्योगी सँग छलफल गर्ने बताउनुभयो ।
सभामा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले कपिलवस्तुमा यातायात व्यवस्था कार्यालय नहुँदा जिल्लावासीलाई समस्या परिरहेको बताउनुभयो । केसीले लाईसेन्स बितरण गर्ने कार्यालयको स्थापना गर्नका लागि मन्त्री राणालाई अनुरोध गर्नु भएको थियो । उहाँले कपिलवस्तु जिल्लाको पश्चिमी भेगमा विकासको प्रचुर संभावना भएपनि सिँचाई र पूर्वाधार विकासको पहुँच न्यून रहेको केसीले बताउनु भयो ।
उद्घाटन सभामा शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारु, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जमसेर अली, प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा, व्यापार संघका केन्द्रीय सदस्य महादेव पोख्रेलले महोत्सवले चन्द्रौटा–कृष्णनगर औद्योगिक क्षेत्रको विकासमा टेवा पुराउने बताउनु भयो ।
विकासको पूर्वाधार आन्तरिक उत्पादन उद्योग र व्यापार भन्ने मूल नाराका साथ शिवराज नगरपालिकालाई औद्योगिक र व्यापारिक नगर क्षेत्रको रूपमा स्थापित गर्ने तथा सांस्कृतिक सम्पदाहरूको जगेर्ना गर्ने मुख्य उद्देश्य रहेको आयोजक संस्था चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले बताउनुभयो । पुस २४ गते सम्म चल्ने महोत्सवले स्थानीय कलकारखाना, घरेलु तथा साना उद्योग, व्यवसाय सँगै स्थानीय पर्यटन विकासमा जोड दिइने संघका महासचिव राज कुमार क्षेत्रीले बताउनु भयो ।

प्रकाशित मिति : १३ पुस २०८० शुक्रबार ००:००  ९ : ४५ बजे