१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

विद्यार्थीहरु विदेश पलायन हुनबाट रोक्न सरकार गम्भिर हुनुपर्छ : सांसद अधिकारी



मायादेवी अनलाइन, वाणगंगा ।
सरकारले आधारभूत आवश्यताको ग्यारेन्टी नगरेसम्म विद्यार्थीहरु पढ्ने बहानामा विदेश पलायन हुनबाट नरोकिने प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले बताउनुभयो । नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ (नेल्टा) लुम्बिनी प्रदेशको प्राज्ञिक गोष्‍ठीलाई सम्बोधन गर्दै शनिवार सिद्धार्थ क्यापसको सभाहलमा सो कुरा बताउनु भएको हो । विद्यार्थीहरु लाई विभिन्‍न सिपहरु सिक्नका लागि चाहिने विशुद्ध आधारभूत वातावरण समेत सिर्जना गर्न नसक्नु नै अहिलेको सरकारको मुख्य कमजोरी रहेकोले दिनहुँ अध्ययनका लागि भनी विद्यार्थीहरु विदेश पलायन भइरहेका छन् । यसलाई रोक्न सरकार योजना बनाएर लाग्‍नुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै प्रदेश योजना आयोग सदस्य सरोज खनालले शिक्षा नीतिमा परिवर्तन ल्याउन तिनै तहको सरकार गम्भिर हुन जरुरी रहेको बताउनु भयो । त्यसै गरी वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले अङ्ग्रेजी भाषाप्रति अभिभावक तथा विद्यार्थीहरुको मोह बढेकाले त्यसका लागि सामुदायिक विद्यालयहरुले पनि अङ्ग्रेजी भाषाका माध्यमबाट शिक्षा दिइरहेको बताउनुभयो ।
कार्यक्रममा नेल्टा लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष गोपाल बस्याल, नेल्टा केन्द्रिय समिति सदस्य होमराज खड्का, बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक हिमलाल भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। साथै उक्त कार्यक्रममा सिद्धार्थ क्याम्पसका सहायक क्याम्पस प्रमुख गोबिन्द खनाल, नेल्टा कपिलवस्तु अध्यक्ष गोबिन्द पोख्रेल, शिक्षा पूर्व उपसचिव बाबुराम भट्‍टराई लगायतका विभिन्‍न अतिथिहरुको उपस्थिति रहेको थियो ।

लुम्बिनी प्रदेशका १२ ओटै जिल्लाका विभिन्‍न विद्यालयमा अध्यापनरत शिक्षकको समेत सहभागिता रहेको उक्त कार्यक्रम प्रदेश अध्यक्ष लोकनाथ उपाध्यायको अध्यक्षता र प्रदेश महासचिव कृष्ण भट्टराईको सञ्‍चालनमा सम्पन्‍न भएको हो ।

प्रकाशित मिति : १४ पुस २०८० शनिबार ००:००  ८ : ३३ बजे