११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

प्रदेशमै उत्कृष्ट सेवा दिइएको भनिएको कपिलवस्तु अस्पतालको इमर्जेन्सी बेडमा कुकुरको रजाई



कपिलवस्तु, मायादेवी अनलाइन ।
कपिलवस्तु जिल्ला अस्पताल तौलिहवाको इमर्जेन्सी विभागको विरामी सुत्ने बेडमा कुकुर सुतेपछि अस्पताल प्रशासनको गैर जिम्मेवारीपन देखिएको छ । स्वास्थ्यका दृष्टिकोणले अति संवेदनशील मानिने इमर्जेन्सी विभागमा २४ घण्टा स्वास्थ्यकर्मी खटिएका हुन्छन् ।
विगतमा राम्रो सेवा दिइरहेको र पुरस्कृत समेत भएको तौलिहवा अस्पतालको विरामी सुत्ने बेडमा कुकुर सुतेपछि अस्पताल प्रशासन तथा कर्मचारी यतिवेला आलोचित भएका छन् । २४ घण्टा व्यस्त हुने अस्पतालको इर्मजेन्सी विभागको बेडमा कुकुर कसरी पुग्यो भने विषय छानविनको विषय बनेको छ ।
सामाजिक संजालमा इमर्जेन्सी बेडमा कुकुर सुतिरहेको फोटो सार्वजनिक भएपछि सोधपुछ र आवश्यक छानविन गरिने भएको छ । यस किसिमको लापरवाही र गैर जिम्मेवार प्रशासन र कर्मचारीमाथी छानविन गरी कारवाही हुने अस्पतालका अध्यक्ष शिवलाल यादवले मायादेवी अनलाइनलाई बताएका छन् । अस्पतालका मेसु विपिन जैसवाल काठमाण्डौं गएकाले आएपछि यसविषयमा वास्तविकता वाहिर आउने बताइएको छ ।

प्रकाशित मिति : १६ पुस २०८० सोमबार ००:००  ८ : ५८ बजे