१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

बाणगंगाको १४ औं नगर सभा : वन र प्रज्ञा प्रतिष्ठान विधेयक स्वीकृत



मायादेवी अनलाइन, कपिलवस्तु
बाणगङ्गा नगरपालिकाले दुई वटा महत्वपूर्ण विधेयक पारित गरेको छ । वुधबार सम्पन्न नगरपालिकाको १४ औं नगरसभाले दुई विधेयक पारित गरेको हो । विधेयक समितिका संयोजक बाबुराम अर्यालले प्रस्तुत गरेका वन विधेयक २०८०, बाणगङ्गा नगर प्रज्ञा प्रतिष्ठान गठन तथा सञ्चालन विधेयक २०८० नगरसभाले पारित गरेको छ ।

यस्तै खानेपानी तथा सरसफाइको क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरू सँग छलफल गरी तयार पारिएको खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी ऐन, २०७८ प्रथम संशोधन प्रस्ताव पारित गरेको हो ।

नगरसभाले राजस्व परामर्श समिति संयोजक समेत रहेकी नगर उप प्रमुख रिता कुमारी चौधरीले पेस गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०८० मा संशोधन प्रस्तावलाई पारित गरेको छ ।

सभाध्यक्ष नगरप्रमुख चक्रपाणी अर्यालले प्रगति विवरण प्रस्तुत गर्दै चालु आर्थिक वर्ष ०८०।८१ को कुल बजेटको हालसम्म पुँजीगत तर्फ १५ प्रतिशत र प्रशासनतर्फ ३० प्रतिशत खर्च भएको जानकारी दिए ।

नगरपालिकाको चालु कुल बजेट १ अर्ब २३ करोड ९३ लाख ३५ हजार ४ सय ३३ रुपैयाँ बजेटको आम्दानी तर्फ ४१ प्रतिशत तथा खर्चतर्फ २३ प्रतिशत प्रगति भएको उनले बताए । उनले आर्थिक वर्षको अन्त्यमा प्रशासनिक तथा विकासात्मक गतिविधिलाई खर्च गर्ने प्रवृत्तिलाई न्यूनीकरण गर्न आग्रह समेत गरेका छन् ।

वित्तिय जोखिम न्यूनीकरणमा नगरपालिकाले ८७ अङ्क प्राप्त गर्ने अनुमान गरि जिल्ला समन्वय समितिमा पठाएको उनले जानकारी दिए । उनले नगरका ११ वटै वडामा जीपीएस लोकेसन सहित घरको नम्बरिङ गर्ने काम अन्तिम चरणमा पुगेको बताए । उनले नगरको भौतिक, आर्थिक, सामाजिक, वातावरणीय तथा समग्र विकासलाई अनुमानयोग्य बनाउन आवधिक योजनामा उल्लेखित स्वीकृत योजना बैंकबाट मात्र कार्य प्रक्रिया अघि बढाउने कामको थालनी गरेको उनको भनाई छ ।


नगरसभामा नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले समसामयिक तथा सार्वजनिक महत्वका विषयहरु बारे जानकारी दिए । नगरमा विभिन्न विधेयक, ऐन, अन्य विषयवस्तुमाथी सभा सदस्यहरुले आ आफनो भनाई राखेका थिए ।

यसैबीच नगरपालिकाबाट पुरस्कृत एवं सम्मानित हुनुभएका पत्रकार कुलराज भुसालले पुरस्कार स्वरुप आफुले प्राप्त गरेको रकमबाट ५ हजार ५ रुपैया रक्त क्यान्सर पीडित पत्रकार दिपक केसीको उपचारको लागि सहयोग प्रदान गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा सदस्य पत्रकार केसी हाल दिल्लीमा उपचाररत हुनुहुन्छ । केसीको उपचारमा थोरै भए पनि राहत होस भन्ने उद्देश्यले सञ्चारकर्मबाट आर्जन गरेको रकम सञ्चारकर्मीलाई सहयोग गरेको पत्रकार भुसालको भनाई छ ।

प्रकाशित मिति : २६ पुस २०८० बिहिबार ००:००  ८ : ४५ बजे