१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सवैको पहुँचमा शुद्ध खानेपानी, सरसफाइको नेतृत्व वडाले लिन्छ : नगर प्रवक्ता पौडेल



मायादेवी अनलाइन, कपिलवस्तु ।
बाणगंगा नगरपालिकाका प्रवक्ता बिष्णु प्रसाद पौडेलले वडावासीको पहुँचमा खानेपानी पुगेकोले स्वच्छ तथा सुरक्षित खानेपानीमा जोड दिनुपर्ने बताउनुभयो । नन्दनगर, तिनैया र पिपरा डाँडामा अवस्थित खानेपानी आयोजनाले सवै वडावासीको पहुँचमा खानेपानी पुगेकोले यसको संवेदनशीलतामा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
वाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति वाणगंगा २ नन्दनगर कपिलवस्तुको छैठौं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै वडाध्यक्ष पौडेलले समितिले वडावासीलाई शुद्ध खानेपानी उपलब्ध गराएको भन्दै संस्था सुशासन, पारदर्शी तथा जवाफदेही तरिकाले सञ्चालन भईरहेको बताउनुभयो ।
वडाध्यक्ष पौडेलले टोल टोलमा गठित सरसफाई समितिहरुलाई कृयाशिल बनाउदै सरसफाई अभियानलाई पूर्णता दिनुपर्ने बताउनुभयो । उहाँले वडा हुदै नगरमै शुद्ध खानेपानी तथा सरसफाईको अभियानको नेतृत्व वडा नम्बर २ ले लिने समेत बताउनुभयो । वडाको विकासका लागि खानेपानीको अहम भुमिका रहेको बताउँदै भौतिक विकास निर्माणले मात्र वडा नगर समृद्ध नहुने स्पष्ट पार्नुभयो ।
समितिका अध्यक्ष विश्व कार्कीले समितिले गरेका मुख्य उपलब्धीका र कृयाकलापको बारेमा जानकारी गराउँदै आगामी योजना प्रस्तुत गर्नुभएको छ । अध्यक्ष कार्कीले बिधान संशोधन, कर्मचारी नियमावली एवं दरबन्दी निर्धारण, खरिद विक्री नियमावली, आर्थिक नियमावली, सामाजिक सुरक्षा कोष, महशुल तालिकामा हेरफेर, धारा जडान शुल्क, अध्ययन तथा अवलोकन, सरसफाई अभियानबारे स्पष्ट पार्दै आयोजनाको प्रगति बारे साधारण सभा समक्ष जानकारी दिनुभएको थियो । उहाँले खानेपानी आयोजनामा सहयोग पु¥याउने उपभोक्ता, वडा, पालिका तथा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सवैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । १८ सय बढि उपभोक्ता रहेको उक्त वाणगंगा खानेपानी समितिको दोश्रो आयोजनाको रुपमा खानेपानी ओभरहेड निर्माण र विस्तारको काम भइरहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।


खानेपानीको प्रांगणमा आयोजित साधारण सभामा समितिका सचिव हिमलाल अधिकारीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गोबिन्द प्रसाद चौधरीले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक चुडामणी अर्यालले लेखा समितिको प्रतिवेदन र सरसफाई समिति संयोजक जगतराज रेग्मीले सरसफाई समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत सबै प्रतिवेदन पारित भएका छन् ।
आर्थिक बर्ष २०७९।८० मा खानेपानीको जम्मा आम्दानी ७२ लाख ७ हजार ९२ तथा ५२ लाख ५७ हजार ६ सय ५४ खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै ३ करोड ३५ लाख १ हजार ८ सय १५ बराबरको जम्मा कोष तथा दायित्व प्रस्तुत गरिएको छ। त्यस्तै समितिको २०८० असार मसान्त सम्मको ३ करोड ४८ लाख ५८ हजार ६ सय ४८ रुपैया बराबरको वित्तिय स्थिती रहेको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन बुटवल रुपन्देहीका ईन्जिनीयर रोशन घिमिरेले शुद्ध खानेपानी उपलब्ध गराउन बाणगंगा खानेपानी लागिरहेको बताउनुभयो । उहाँले संघीय खानेपानीसंग समन्वय गरि ठुलो परियोजना सञ्चालन गर्न सफल भएकोमा समितिलाई धन्यवाद दिनुभयो ।
त्यस्तै मनकामना सामुदायिक वनका अध्यक्ष मुक्त बहादुर कार्की, ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलका प्रिन्सिपल सुरेन्द्र पाण्डे, जनता माविका शिक्षक उज्ज्वल अधिकारी, गुरुकुल नन्दनगरका तर्फबाट रविराज ज्ञवाली, नेकपा (एमाले) वडा कमिटी अध्यक्ष नहकुल शाहि लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।


समितिका उपाध्यक्ष हर्क बहादुर कार्कीको स्वागत तथा सचिव हिमलाल अधिकारीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा बाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसी, पिपरा अस्पतालका प्रशासन प्रमुख, ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख, सशस्त्र प्रहरी वेस क्याम्प पिपराका प्रमुख, स्थानीय समाजसेवी, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।
साधारण सभामा पुर्व उपभोक्ता समिति, निवर्तमान समिति, खानेपानी पत्रकारीता पुरस्कार मार्फत संचारकर्मी हरि आचार्यलाई सम्मान समेत गरिएको छ ।

प्रकाशित मिति : २८ पुस २०८० शनिबार ००:००  १० : ३२ बजे