१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कृषिलाई नाफामुखी गराउन तिनै तहका सरकार गम्भिर बन्नुपर्ने : सांसद पन्थी



बाणगंगा कपिलवस्तुको बाणगंगा स्थित बुद्धरङ्गशालामा आयोजित १ दिने कृषि मेलामा करिब ६ सय जनाले अवलोकन गरेका छन् । युएसएआइडीको आर्थिक सहयोगमा सञ्चालित अन्तराष्ट्रिय मकै तथा गहुँ सुधार अन्तर्गतको नेपाल बीउ तथा मल परियोजना (सिमिट) को आयोजना, बाणगंगा नगरपालिका, नेपाल कृषि अनुसन्धान परिषद र कृषि उद्यम केन्द्रको सहकार्यमा सम्पन्न भएको मेलामा विभिन्न उत्पादन, बीउ, मल, कृषि औजार, जैविक विषादी लगायत विभिन्न कृषि सामाग्रिका प्रदर्शन गरिएको सिमिटका बिजनेस डेभलपमेन्ट म्यानेजर डाक्टर नारायण प्रसाद खनालले बताउनुभयो । त्यस्तै मेलामा करिब १० लाखको आर्थिक कारोबार समेत भएको उहाँले बताउनुभयो ।

कृषि मेलाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले नेपाल कृषि प्रधान देश भएपनि खाद्यान्न, तरकारी, तेलहन लगायत सबै कृषि सामाग्रिहरु विदेशबाट आयात गर्नुपर्ने बिडम्बना भएको बताउनुभयो । जनताले अहिले विकास निर्माणका मुद्धा भन्दापनि मल, बीउ नपाएको गुनासो तिव्र रुपमा गरिरहेको उहाँले बताउनुभयो । अहिले कृषि क्षेत्र प्रति सबैको वितृष्णा बढेको भन्दै कृषिलाई नाफाको व्यापार गराउन तिनै तहका सरकार गम्भिर बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिका मेयर चक्रपाणी अर्यालले नगरमा कृषि क्षेत्रको प्रर्वद्धन गर्दै आर्थिक उन्नति गर्न यस कार्यक्रम आयोजना गरिएको बताउनुभयो । नगरका अधिकांश परिवार कृषिमा आबद्ध रहेकोले यस मेलाले ठुलो सहयोग गरेको बताउनुभयो । मेयर अर्यालले तरकारी, खाद्यान्न, तेलहन लगायत विभिन्न बालीको उन्नत जातको बीउ, आधुनिक कृषि सामाग्रि लगायको उपयुक्त छनौटको लागि पनि यस मेलाले सहयोग गर्ने बताउनुभयो । नगरवासीलाई कृषि बाटै आर्थिक क्षेत्रमा माथि उठाउन नगरले विभिन्न योजना तथा कार्यक्रम ल्याइरहेको भन्दै त्यसलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

त्यस्तै नगर उपप्रमुख रिता कुमारी चौधरीले नगरका विभिन्न वडामा छुट्टाछुट्टै खेती हुने भएकाले माटो जाँच गरेर माटो सुहाउँदो खेती गर्नुपर्नेमा बताउनुभयो । पछिल्ला केहि वर्ष यता अत्याधिक रुपमा रासायनिक मल र विषादीको प्रयोग बढेको भन्दै जैविक खेती गर्नुपर्नेमा जोड दिनुभयो ।

मेलाका २२ वटा स्टलमा बाणगंगा नगरपालिकाका २, बुद्धभुमि नगरपालिकाका ३, दाङका ६ र पाल्पाको एक सहकारी गरि २२ वटा सहकारी र अन्य बाणगंगा भित्रका कृषि व्यवसायी तथा सहकारीहरुले कृषि सम्बन्धी उत्पादन तथा सामाग्रिहरु प्रदर्शन गरेको सिमिटका बिज्नेस डेभलपमेन्ट म्यानेजर खनालले बताउनुभयो । विशेषगरी बसन्ते बालीलाई प्राथमिकता दिएर लुम्बिनी प्रदेशका कपिलवस्तु, पाल्पा, रुपन्देही, दाङ, बाँके र बर्दिया सहित नेपालका २६ वटा जिल्लामा यो कर्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १० माघ २०८० बुधबार ००:००  १० : १९ बजे