१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाणगंगाको सार्वजनिक सुनुवाई ‘जनगुनासा सम्बोधन गर्छौ’



बाबुराम रायमाझी, बाणगंगा ।
‘समृद्ध बाणगंगाको मुल आधार, आर्थिक सामाजिक रुपान्तरण सहितको पूर्वाधार’ भन्ने मुल नाराका साथ बाणगंगा नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको प्राविधिक सहयोगमा बाणगंगा नगरपालिकाको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ ।

बाणगंगा नगरको आर्थिक बर्ष ०८०।८१ को विकास निर्माण, नगरपालिकाको सेवा प्रवाह, सेवाग्राहीको सन्तुष्टि तथा असन्तुष्टी, पारदर्शी तथा जवाफदेहीता अभिवृद्धि गर्ने उद्देश्यले सिद्धार्थ क्याम्पसको सभा हलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बाणगंगा नगरका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले राज्यले संचालन गरेका सेवा प्रवाहलाई सरल र सहज बनाउदै नगरमा सेवाग्राही नागरिकलाई सन्तुष्टि प्रदान गर्ने काम कार्यालयको हुने बताउनुभयो । नगरबासीको खुशीको सूचकलाई माथी उठाउने गरी सबै निकाय मिलेर काम गर्नुपर्ने अधिकृत मरासिनीले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका उपाध्यक्ष हरि अधिकारीले नागरिक प्रतिबेदन र कोषाध्यक्ष मोहन बेल्बासेले बहिर्गमन प्रतिबेदन मार्फत कार्यालयको सेवा प्रवाह, राम्रा पक्ष तथा सुधार गर्नुपर्ने विषयमा सेवाग्राही नागरिकको समष्टीगत तथ्यांक प्रस्तुत गर्नुभएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नगरबासीले छाडा चौपाया ब्यबस्थापन, नदिजन्य पदार्थको चोरी निकासी, बिद्युत चुहावट, फोहोरमैलाको उचित ब्यबस्थापन, गुणस्तरीय सडक निर्माण, नगर चक्रपथ, अव्यवस्थित बसोबास, नगर बस संचालन, औद्योगिक क्षेत्र, सार्बजनिक शौचालय, शिक्षा, स्वास्थ, सिंचाइको समस्या जस्ता जिज्ञासा एबम गुनासो नगरका मेयर चक्रपाणी अर्याल, उपमेयर रिताकुमारी चौधरी, वडाअध्यक्ष, कर्मचारीसमक्ष राखेका थिए ।

नगरबासीबाट आएका गुनासोमा छाडा चौपायाको ब्यबस्थापनको विषयमा नगर प्रबक्ता बिष्णु प्रसाद पौडेलले नगरबाट बजेट बिनियोजन भई पशुपंक्षिको तथ्यांक संकलन भै काम अगाडि बढेको बताउनुभयो । वडा तथा पालिका तहमा अल्पकालिन र दीर्घकालिन योजना बनाएर छाडा चौपायाको व्यवस्थापन समेत भइरहेको बताउनुभयो ।

वाणगंगाका नगर प्रमुख अर्यालले सेवाग्राीको गुनासो र सुझाव सकारात्मक रहेको बताउदै नगरवासीलाई प्रभावकारी र गुणस्तरीय सेवा प्रवाहमा नगरपालिका निरन्तर लागिरहेको बताउनुभयो । उहाँले नगरको चारनम्बर र गजेहडा बजार क्षेत्रमा मात्र सडक बत्ती रहेको स्पष्ट पार्नुभयो । उहाँले विद्युत प्राधिकरण कपिलवस्तुले भने सडक बत्तीको विषयमा हुदै नभएको तथ्यांक उल्लेख गरेर बदमासी गरेको बताउनुभयो ।

मेयर अर्यालले नदिजन्य पदार्थको टेन्डर भई काम अघि बढको र अव्यवस्थित बसोबासी सम्बन्धमा सरकारको अस्थिरताको कारण काम हुन नसकेको बताउनुभयो । सोही अवसरमा सचेत नागरिक बसोवास गर्ने नगरपालिकामा जनप्रतिनिधी र कर्मचारीले जिम्मेवार भएर काम गर्नुपर्ने सुझाएका थिए ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका शाखाका प्रमुखहरु, वडा अध्यक्षहरु, वडा सदस्यहरु, टोल विकास समितिका अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापक, क्याम्पस प्रमुख, राजनीति दलका प्रमुख तथा प्रतिनिधिहरु, नगरवासी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । २ सयको सहभागीता रहेको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार पार्वती पाण्डेले गर्नुभएको थियो ।

प्रकाशित मिति : १४ माघ २०८० आइतबार ००:००  ११ : ०३ बजे