१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अध्यक्षका उम्मेदवार न्यौपाने प्यानलको यस्ता छन् २० बुँदे प्रतिवद्धता



कपिलवस्तु ।
कपिलवस्तु उद्योग वाणिज्य संघ बाणगंगाको चुनावी सरगर्मी बढ्न थालेको छ । उद्योगी व्यवसायीहरुको छाता संगठनको रुपमा स्थापित संघको यहि माघ २३ गतेदेखि संघको १६ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशन हुँदैछ।

कपिलवस्तु उद्योग वाणिज्य संघमा स्थापनादेखि नै सकृय युवा व्यवसायी मोहन न्यौपानेको साझा उम्मेदवारको प्यानल आज सार्वजनिक भएको हो । ९० प्रतिशत युवाहरु समेटी अध्यक्षका उम्मेदवार न्यौपानेको प्यानलमा सवैक्षेत्र, वर्ग समुदायको प्रतिनिधीत्व गराउँदै साझा र समावेशी टिम निर्माण भएको छ ।

उम्मेदवार घोषणा कार्यक्रममा न्यौपाने प्यानलको टिमले निर्वाचन जित्ने दावी गरेको छ । जित हासिल गरेपछि प्रतिवद्धता अनुसार कार्ययोजना बनाएर काम गर्ने बताएका छन् । अध्यक्षका उम्मेदवार न्यौपानेले संघको निर्वाचनमा आफूले गरेका प्रतिवद्धतालाई पुरा गर्ने बताएका छन् । यस्ता छन् २० बुँदे प्रतिवद्धताहरु

प्रतिवद्धता
 संस्थागत सुशासनलाई पहिलो प्राथमिकता दिएर आर्थिक पारदर्शीतालाई पूर्ण बनाउने प्रतिवद्धता व्यक्त गर्दछौं ।
 आन्तरिक सुशासन र वाह्य रुपमा संघलाई सुदृढ बनाउँदै लुम्बिनी प्रदेशमै आफ्नो पहिचान स्थापित गर्नेछौं ।
 व्यवसायी, महिला, युवा, अपांगता भएका व्यक्ति सवैको हक अधिकार स्थापित गर्दै पेशागत सुरक्षालाई सुदृढ गराउने छौं ।
 वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्दै लगानीको वातावरण बनाउन पहल गर्नेछौं ।
 सरकारी, निजी र सहकारी क्षेत्रबीचको साझेदारीलाई सुदृढ गराउने छौं ।
 दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने तथा व्यवसायीको मनोबल उच्च बनाउनेगरी तीनै तहका सरकारसंग आवश्यक समन्वय र सहकार्य गर्नेछौं।
 वैदेशिक रोजगारीको आकर्षणमा कमी ल्याउन स्थानीय स्तरमै सामुहिक उद्यमशीलता र रोजगारीको सिर्जना गर्ने कार्यलाई प्राथमिकताका साथ उठाउने छौं।
 व्यवसायिक सुरक्षाको लागि ४० लाखबाट १ करोड अक्षय कोष स्थापना संगै सदस्यहरुको विमाको प्रबन्ध गर्नेछौं ।
 उद्योगी व्यवसायीका समस्याहरु पहिचान गरी भरपर्दो अभिभावकत्वको जिम्मेवारी लिदै व्यवसायीको स्वास्थ्य बिमा र पेशागत सुरक्षामा सहयोग गर्नेछौं।
 वैंक तथा वित्तीय संस्थामा तरलता बढेसंगै व्याजदर घटाउने प्रावधानलाई प्राथमिकताका साथ अगाडि बढाउने छौं ।
 चर्को वैंक व्याजदरले उद्योग व्यवसाय संकटमा परेकाले व्यवसायीमैत्री नीति बनाउन दवाव सिर्जना गर्नेछौं ।
 मुख्यबजार क्षेत्रभित्र रहेको पार्किङको समस्यालाई नगर, वडा समिति र टोल विकास संस्थासँग समन्वय गरी समाधान खोज्न प्रयत्न गर्नेछौं ।
 २०७२ को भूकम्प, नाकाबन्दी र कोभिडपछिको विश्व अर्थतन्त्रमा आएको मन्दीका कारण नेपाली अर्थतन्त्र र बजारमा देखिएको सुस्तताका कारण नगरले लिँदै आएको एकीकृत सम्पत्ति कर र बहाल करको मूल्याङ्कन र दरको मापदण्ड बनाई पुनर्मूल्याङ्कन गराएर समय सापेक्ष बनाउन प्रयत्न गर्नेछौं ।
 स्थानीय सरकार र उद्योग वाणिज्य संघ सञ्चालकका रूपमा सहभागी हुने विभिन्न सघसंस्था र शिक्षण संस्थाहरूमा विश्वासिलो सहकार्य गर्ने वातावरण बनाउनेछौं।
 संघीय सरकार मातहत रहने आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान र भन्सार कार्यलयसँग समन्वय गरी व्यवसायमैत्री वातावरण निर्माण गर्न प्रयत्न गर्नेछौं ।
 कर, राजश्व र भन्सारका अधिकृतहरूसँग संघका पदाधिकारी, सदस्य तथा अन्य व्यवसायीको नियमित रुपमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरी सरकारले अवलम्बन गर्ने नयाँ नयाँ नीतिको नियमित रूपमा जानकारी गराउनेछौं ।
 अर्थ मन्त्रालयले अवलम्बन गर्ने कर, राजस्व नीति र नेपाल बैंकले हरेक वर्ष जारी गर्ने मौद्रिक नीति साना तथा मझौला व्यवसायमैत्री भए नभएको अध्ययन गरी सुधारको लागि नेपाल उद्योग वाणिज्य महासंघमार्फत प्रयत्न गर्नेछौं ।
 बस्तुगत र एशोसियट सदस्यलाई नेपाल उद्योग वाणिज्य महासंघको नीतिगत व्यवस्था वमोजिम केन्द्रमा आवद्धता गराउनेछौं ।
 पछिल्लो तिन वर्ष यताको विमाको दर रेटमा २०० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसलाई विमा प्राधिकरण र अर्थमन्त्रालय बीच समन्वय गरी समय सापेक्ष गर्न विशेष पहल गर्नेछौं ।
 विद्युतको थ्री फेश लाईनको जडानमा हुने झन्झटिलो प्रक्रिया र विद्युत लाईनको समस्यालाई व्यवसायीको पक्षमा हुने गरी सहजीकरण गर्न प्रयत्न गर्नेछौं ।  दर्ता नगरी संचालन भएका झोले पोके व्यापारीलाई निगरानीमा राखिनेछ ।

 ‘आर्थिक समृद्धि, व्यवसायिक हित र सुरक्षा’ को मुलमन्त्रलाई आत्मसाथ गर्दै संघको अभियानमा समर्पित हुनेछौ ।

प्रकाशित मिति : १९ माघ २०८० शुक्रबार ००:००  ३ : ०७ बजे