१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

महिलाहरुका लागि १० दिने वाद्यवादन तालिम सम्पन्न



गिता अधिकारी, बैरिया ।
बाणगंगा- १ का महिलाहरुका लागि संचालित १० दिने वाद्यवादन तालिम जेसिज भवनमा शुक्रबार सम्पन्न भएको छ । नेपाली लोक परम्परागत सांस्कृतिक प्रतिष्ठान कपिलवस्तुको आयोजना र बाणगंगा नगरपालिका वडा नं. १ को सहयोगमा महिलाहरुको लागि १० दिने वाद्यवादन तालिम संचालन गरिएको थियो ।

समापन कार्यक्रमको प्रमुख अतिथि बाणगंगा नगरपालिकाकी उपमेयर रीता चौधरीले सबै जातजाती, समुदाय, भाषा, कला र संस्कृतिप्रति आफ्नो सद्भाव र सहयोग सदैव रहेको बताउनुभयो । उपमेयर चौधरीले विभिन्न भाषा धर्म संस्कृतिको विविधता भएकाले यस नगरमा यहाँ रहेका संस्कृति संरक्षणमा आफूले जोड दिने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले कला संस्कृतिले व्यक्तित्व विकाससंगै स्वस्थ समाज निर्माणमा टेवा पुग्ने बताउनुभयो ।

बाणगंगा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सञ्जु सारु, जिल्ला समन्वय समिति सदस्य सुमित्रा परियार, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, निवर्तमान वडाध्यक्ष बालकुमारी पन्त अधिकारी, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, वडा सदस्य टोपकला विसी, समाजसेवी सुशीला घिमिरे लगाएतले नेपाली परम्परा जोगाइराख्न नगरपालिकाले महिलाहरुलाई लक्षित गरी कार्यक्रमहरु ल्याउनुपर्ने बताएका थिए । हाम्रा परम्पराहरु लोप हुन नदिन वाद्यवादन संरक्षण, सम्वद्र्वन र प्रवद्र्धनको लागि सवैले सक्दो सहयोग गर्ने बताएका थिए ।

वाद्यवादन तालिममा सहभागी प्रशिक्षार्थी महिलाहरुलाई कदर पत्रले सम्मान गरिएको थियो । समापन कार्यक्रमको अध्यक्षता निवर्तमान वडाध्यक्ष बालकुमारी पन्त अधिकारीको अध्यक्षता, समाजसेवी उषा नेपालको स्वागत तथा प्रतिष्ठानका अध्यक्ष बुद्धिसागर बेल्वासको संचालनमा सम्पन्न भएको थियो ।

तालिमको प्रशिक्षकमा लिलापती घिमिरे, बुद्धिसागर वेल्वासे र मोहन गौतम रहनुभएको थियो । महिलाहरुलाई मादल, खैजडी, मजुरा, हारमुनियम लगाएतका वाद्यवादन सिकाइएको थियो ।

प्रकाशित मिति : २० माघ २०८० शनिबार ००:००  ८ : ३९ बजे