१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मायादेवी गाउँपालिकाः वडाध्यक्षले लगाए हाकिम सविनमाथि आर्थिक चलखेलको गम्भीर आरोप



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतमाथि आर्थिक चलखेलको गम्भीर आरोप लगाएका छन् ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सविन सिंह चौधरी छन् । यिनै चौधरीमाथि पालिकाका वडाध्यक्षले आर्थिक चलखेलको गम्भीर आरोप लगाएका हुन् ।

यही माघ १५ गते पालिकाका ८ वटै वडाका वडाध्यक्षले हस्ताक्षर गरेको पत्रमा प्रमुख प्रशासकीय अधिकृतमाथि आरोपै आरोप लगाइएको छ ।

वडाध्यक्षहरुले चौधरीमाथि जनप्रतिनिधि, आम पालिकाबासीसँग अभद्र तरिकाले प्रस्तुत हुने, जनतालाई दुःख दिने काम गरिरहेको आरोप लगाएका छन् ।

साथै उनीहरुले भनेका छन्, ‘जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुने भएकाले प्रशासकीय अधिकृतको बदनियत पूर्ण तरिकाले गर्ने सम्पूर्ण जन समुदायलाई दुःख दिने कार्य गर्नु भएकाले आर्थिक चलखेल तिर विशेष ध्यान पुर्‍याउनुभएको छ ।’

चौधरी तत्काल नसच्चिए उनी विरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने र त्यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले लिनुपर्ने पत्रमा चेतावनी दिइएको छ ।

उक्त पत्र जिल्ला समन्वय समिति कपिलवस्तुलाई बोधार्थ दिइएको छ ।

गाउँपालिकाको अध्यक्षमा वलिउद्दिन मुसलमान छन् । नेपाली कांग्रेसबाट निर्वाचित मुसलमानमाथि पनि वडाध्यक्ष खनिएका छन् । मुसलमान अध्यक्षमा निर्वाचित भएदेखि उनको कार्यशैली माथि निरन्तर प्रश्न उठिरहेको छ ।

पालिकाका वडाध्यक्षले यति गम्भीर आरोप लगाउँदा पालिका तै चूप मै चूपमा छ । प्रमुख प्रशासकीय अधिकृत चौधरीलाई सम्पर्क गर्न खोजेपनि उनको फोन उठेन् ।

प्रकाशित मिति : २० माघ २०८० शनिबार ००:००  ९ : ४३ बजे