१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मायादेवी गाउँपालिकाः अध्यक्ष मुसलमानले दिलाए नियम विपरितका नियुक्ति



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमानले कानून विपरित कार्यकर्तालाई जागीर दिएको खुल्न आएको छ ।

गाउँपालिकामा कानून विपरितका पद सिर्जना गरेर अध्यक्ष मुसलमानले कार्यकर्तालाई नियुक्ति दिएका हुन् ।

मुसलमानले गाउँपालिका सल्लाहकार, कानूनी सल्लाहकार, मेलमिलाप विज्ञ, प्रेस सल्लाहकार लगायतका पद सिर्जना गरेर कार्यकर्ता भर्ती गरेका छन् ।

जबकी पालिकामा यी पदको दरबन्दी नै हुँदैन् ।

यही माघ महिनामा मुसलमानले गाउँपालिका सल्लाहकारका रुपमा सुर्फदिन मुसलमानलाई नियुक्त गरेका छन् । स्रोतका अनुसार उनको बार्षिक तलब रु दुई लाख बाउन्न हजार छ ।

यसका साथै इन्धनबापत रु. सात हजार, यातायात बापत रु. सात हजार, खानेपानी तथा सरसफाई बापत रु. आठ हजार, पत्रपत्रिका तथा इन्टरनेटबापत रु. पाँच हजार र मर्मत सम्भार तथा उर्जा खर्चबापत रु. दश हजार भुक्तानी पाउने गरी अध्यक्ष मुसलमानले सुर्फदिनलाई नियुक्त गरेका हुन् ।

अधिकांश पालिकाले प्रेस सल्लाहकार भने राख्दै आएका छन् । मिडिया सम्बन्धि काम गर्नका लागि पालिकाले यो पद सिर्जना गरेका हुन्छन् । कानूनी सल्लाहकार अवैतनिक रुपमा राख्ने गरिएपनि तलबै भने तोक्न पाइदैन् । तर मायादेवी गाउँपालिकामा भने तलबै दिने गरिएको छ ।

पालिकामा यसरी सिर्जना गरिएको पदमा तलबभत्ता दिँदा सिधै बेरुजु आउँछ । स्थानीय तहले अन्धाधुन्धा पद सिर्जना गर्दै कार्यकर्ता भर्ती गर्न थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटक पटक दरबन्दी भन्दा बाहिर गएर नियुक्ति नदिन आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : २१ माघ २०८० आइतबार ००:००  १० : २३ बजे