२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

न्यौपाने प्यानल घरदैलोमा, १ लाखसम्मको राहत रकम



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु उद्योग वाणिज्य संघकोे नयाँ नेतृत्व चुन्ने अवसर अब २ दिनमात्र बाँकी छ । संघको १६ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन मंगबारदेखि शुरु हुँदैछ । संघको माघ २३ गतेदेखि साधारण सभाको कार्यक्रम लगत्तै अधिवेशनको प्रकृया शुरु हुन्छ । नयाँ नेतृत्वका लागि निर्वाचन हुने पक्का भएपछि यतिवेला विभिन्न प्यानल खडा गरी उम्मेद्वारहरु घरदैलोमा व्यस्त देखिन्छन् । एमाले निकटका न्यौपाने प्यानल, संयुक्त गठबन्धनका क्षेत्री र रास्वपाका कँडेल चुनावी प्रतिस्पर्धामा छन् ।

उम्मेदवारहरु मतदातालाई रिजाउन चुनावी एजेण्डा लिएर भोट माग्नमा व्यस्त भएका छन् । निर्वाचनको समय नजिकिदै गएपछि आफना प्रतिवद्धता सहित उम्मेदवार दिनभरीनै घरदैलोमा भेटघाटमा पुगेका छन् । अध्यक्षका उम्मेदवार मोहन न्यौपानेको साझा व्यवसायिक समावेशी प्यानलले कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगालाई लुम्बिनी प्रदेशमै विशिष्टीकृतको पहिचान बनाउने प्रतिवद्धता गरेको छ । ‘आर्थिक समृद्धि, व्यवसायिक हकहित र सुरक्षा’ को अभियानमा हाम्रो टिम प्रतिवद्ध छ, उनले भने, ‘विगतको सफलता, संस्थागत विकास र प्रगतिमा प्राप्त उपलब्धीलाई निरन्तरता दिन्छौं’ ।

अनुशासित र अनुभवी युवाहरुको टिमले संघको श्रीवृद्धि र व्यवसायिक हकहितको लागि काम गर्न खोजेका छौं, मतदाताको साथ र सहयोगको अपेक्षा गर्दछौं न्यौपानेले भने । सूचना प्रविधीमा अभ्यस्त हुदै आन्तरिक र वाह्यरुपमा संघलाई सुदृढ गरी लुम्बिनी प्रदेशमै विशिष्टिकृत पहिचान बनाउने योजना आफूसँग भएको बताएका छन् ।

व्यवसायीको सुरक्षा कोषको प्रवन्ध गर्दै दुर्घटना वा कुनै कारणले मृत्यु भएमा १ लाख सम्मको राहत रकम उपलब्ध गराउने व्यवस्था मिलाउने प्रतिवद्धता गरेका छन् ।

घरदैलोमा सदस्यहरुसंग भेट्दा व्यवसायीका धेरै गुनासा र समस्याहरु रहेको उनले पाए । सदस्यको हक अधिकार र पेशागत सुरक्षामा आगामी दिनमा आफनो नेतृत्वमा देखिनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संस्थागत सुशासन र आर्थिक पारदर्शीतालाई मुख्यअस्त्रको रुपमा अंगीकार गर्ने न्यौपाने प्यानलको अठोट छ ।

प्रकाशित मिति : २२ माघ २०८० सोमबार ००:००  ८ : २७ बजे