१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

शुद्धोधनका अध्यक्ष कमलेशमाथि लाग्यो हातपात गरेको आरोप, हुलाक मार्फत प्रहरीमा पठाइयो जाहेरी



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि हातपात गरेको आरोप लागेको छ ।

अध्यक्ष चौधरीले गएको माघ २१ गते साँझ ५ बजेको समयमा पालिकाबासी रामपाल गडरियामाथि गालीगलौजका साथ सार्वजनिक बाटोमा हातपात गरेको आरोप लागेको हो ।

दर्जनका संख्यामा युवाको साथ उपस्थित पालिका अध्यक्ष चौधरीले मुखमा आएजतिको गालीगलौज गर्दै आफूलाई ज्यान मार्ने धम्कीका साथ हातपात गरेको पीडित गडरियाले बताएका छन् ।

पीडित गडरियाले पालिका अध्यक्ष चौधरीसँगै आफूमाथि जाइलाग्नेलाई कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय तौलिहवामा अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्धा हालेका छन् ।

घटना घटेको भोलिपल्ट माघ २२ गते उनी जिल्ला प्रहरी कार्यालय तौलिहवा पुगेका थिए । तर प्रहरीले स्थानीय प्रहरी कार्यालयमा छलफल गर्नु भनेपछि फर्किएको जनाए ।

प्रहरी कार्यालय लवनीमा पालिका अध्यक्षसँग छलफल गर्ने वातावरण मिल्न सक्ने सम्भावना नदेखेपछि उनले हुलाक मार्फत जिल्ला प्रहरी कार्यालयमा मुद्धा पठाएका छन् ।

शुद्धोधन गाउँपालिका वडा नं. ६ का २८ बर्षीय गडरिया एक नीजि विद्यालयका प्रिन्सिपल पनि हुन् ।

के थियो घटना, गडरियाको भनाईको आधारमा

माघ १९ गतेको दिन पालिकाको मधुनगरमा अचानक दुई/चार घण्टा विजुली बत्ती गयो । विजुली किन गयो भनेर सोधखोज गर्दा स्थानीय पोलमा गाडीले ठक्कर दिएको थाहा भयो । दोस्रो दिन शनिबार साँझसम्म पनि विजुली आएन । छलफलका लागि पालिका अध्यक्ष चौधरी (अर्को गाउँ) महादेव गए । गाउँमा विजुली बत्ती बाल्नका लागि पुरानै पोल गाड्नुपर्नेमा पालिका अध्यक्ष चौधरीले जोड दिए । उक्त कुरा गाउँलेले स्विकार गरेनन् । जसले पोल भाँच्यो उसैले पोल गाड्नुपर्ने अडान गाउँलेले राखे । अध्यक्ष चौधरी र गाउँलेको कुरा नमिले पछि छलफल निष्कर्षविहिन भयो ।

गडरियाले साँझपख विजुली बत्ती नआएपछि विद्युत प्राधिकरण तौलिहवामा फोन गरे । त्यहाँ विजुली बत्ती दिन नसकिने उत्तर आयो । गडरियाले अध्यक्षसँग कुरा नमिलेको महादेव गाउँमा मात्र लाइन काटेर भएपनि आफ्नो गाउँ मधुनगरमा बत्ती सुचारु गर्न भने । तर विद्युत प्राधिकरणले दुबै गाउँको लाइन काट्न पालिका अध्यक्षबाट निर्देशन आएको जवाफ दियो ।

यो सुनेपछि गडरियाले फेसबुक स्टाटस लेखे । उनले लेखेको स्टाटसमा- ‘थुक्क छ स्थानीय सरकारमाथि लाइन नआएको ३६ घण्टा भन्दा बढी भयो तर अहिले पत्तो छैन, पोल खसेछ एक गाउँमा तर लाइन काटेछ दुई गाउँको ! स्थानीय सरकार हेरेर गए, तै पनि खै दुई दिनको पढाई छुट्यो के हुन्छ होला ? के हुन्छ कपिलवस्तुको शुद्धोधन…… को ?

यहीँ स्टाटस लेखेपछि पालिका अध्यक्ष चौधरी गडरियामाथि क्रूद्ध बनेका हुन् । चौधरीले केहीँ युवा लगेर गडरियामाथि गालीगलौजका साथ हातपातमा उत्रिएको आरोप छ । साथै ज्यान बाँकी नरहने भन्दै पालिकाका अध्यक्ष चौधरीले चेतावनी दिएको गडरियाले बताएका छन् ।

प्रकाशित मिति : २५ माघ २०८० बिहिबार ००:००  ६ : १९ बजे