१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

वाणगंगा नगरस्तरीय शैक्षिक सामग्री प्रदर्शनी सम्पन्‍न



सूर्य चुदाली, वाणगंगा ।

वाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शुक्रवार वाणगंगा नगरस्तरीय शैक्षिक सामग्री प्रदर्शनी मेला सम्पन्‍न भएको छ । बाल माध्यमिक विद्यालय बैरियाको खेल मैदानमा सम्पन्‍न उक्त प्रदर्शनीमा वाणगंगा नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत गरी २४ विद्यालयले सहभागिता जनाएका थिए ।

शैक्षिक सामग्री प्रदर्शनीले विद्यार्थीहरुको रचनात्मक, सिर्जना एवम् बौद्धिक क्षमता र ज्ञान तथा नविनतम् सिपको विकासमा थप टेवा पुग्‍ने अवलोकनमा सहभागी विद्यार्थीहरुले बताए । शैक्षिक सामग्री प्रदर्शनीमा विद्यार्थीहरुले नै सामग्री निर्माण गर्ने भएकाले उनीहरुको आन्तरिक प्रतिभालाई प्रस्फुटन गर्न मद्दत पुग्‍ने हुँदा नगरपालिकाले प्रत्येक वर्ष यस्तो प्रदर्शनी गरेको वाणगंगा नगरपालिकाकी उपप्रमुख तथा कार्यक्रमकी अध्यक्ष रीता चौधरीले बताउनुभयो ।

उक्त प्रदर्शनीमा बाल विकास तर्फ सिटी मन्टेश्‍वरी प्रथम, बाल मा.वि.बैरिया द्वितीय, युनाइटेड स्टुडेन्ट एकेडेमी चप्परगाउँ तृतीय, वाणगंगा मा.वि.गजेहडा र मनकामना संस्कृत विद्यालय नन्दनगर सान्त्वना भएका छन् । त्यसै गरी आधारभूत तर्फ सूर्योदय आधारभूत विद्यालय चप्परगाउँ प्रथम, नवदुर्गा आधारभूत विद्यालय मोतिपुर डाँडा द्वितीय, दुर्गाभवानी आधारभूत विद्यालय कर्महना तृतीय र नेपाल राष्‍ट्रिय आधारभूत विद्यालय अहिरौली सान्त्वना भएका छन् भने माध्यमिक तर्फ पारिजात मा.वि.बनगाई प्रथम, युनाइटेड स्टुडेन्ट एकेडेमी चप्परगाउँ द्वितीय, ओदारी मा.वि.ओदारी तृतीय, जनता मा.वि.पिपरा सान्त्वना भएका छन् । उक्त प्रदर्शनीमा बाल माध्यमिक विद्यालय र वाणगंगा मा.वि.का विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

प्रदर्शनीमा नगरभित्रका विभिन्‍न वडाका वडाअध्यक्षहरु, नेपाल राष्‍ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष विष्णु भण्डारी, विद्यालयका प्रधानाध्याक तथा शिक्षक प्रतिनिधिहरु, अभिभावक, बुद्धभूमि नगरपालिका र वाणगंगा नगरपालिका भित्रका करिब २००० विद्यार्थीहरुको सहभागिता रहेको थियो । वाणगंगा नगरपालिकाकी उपप्रमुख रीता कुमारी चौधरीको अध्यक्षता, नगर प्रमुख चक्रपाणि अर्यालको प्रमुख आतिथ्यता, नगर शिक्षा शाखा प्रमुख खिम बहादुर जि.सी.को स्वागत मन्तव्यमा सम्पन्‍न उक्त प्रदर्शनीको सञ्‍चालन बाल मा.वि.बैरियाका शिक्षक कृष्णप्रसाद भट्टराईले गर्नुभएको वाणगंगा नगर शिक्षा शाखा प्रमुख खिमबहादुर जि.सी.ले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ माघ २०८० शनिबार ००:००  १ : ०६ बजे