१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

अध्यक्षमा क्षेत्री, यस्तो आयो कपिलवस्तु उद्योग बाणिज्य संघको नेतृत्व



कपिलवस्तु।
कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी ३ बर्षे कार्यकालको लागि भएको निर्वाचनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पद गठबन्ध्नको पोल्टामा परेको छ ।

काँग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एस, राप्रपाको गठबन्धन गरी साझा प्यानल चुनावमा थियो ।

शनिबार भएको चुनावको आइतबार अन्तिम नतिजा घोषणा हुँदा अध्यक्षमा गणेश बहादुर क्षेत्री, वरिष्ठ उपाध्यक्षमा हुमानाथ पौडेल र महासचिवमा नवदत्त घिमिरे विजयी भए । अन्य पदमा भने मिश्रित नतिजा आएको छ । एउटा उपाध्यक्ष, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सचिवमा र केहि क्षेत्रगत सदस्य लगायतमा एमाले प्यानलका उम्मेदवार विजयी भए ।

अध्यक्ष क्षेत्रीले ९ सय १२ मत हासिल गर्दा प्रतिद्वन्दी मोहन न्यौपानेले ८५१ मत हासिल गरे । अध्यक्षमा जम्मा ६१ मतान्तर देखियो । यसैगरी वरिष्ठ उपाध्यक्षमा पौडेल लोकप्रिय मतसहित विजयी भए । उनले ८८१ कत हासिल गर्दा पराजित भएका वीरेन्द्र खाँणले ७ सय २४ मत हासिल गरे । स्वतन्त्र प्यानलका देवीलाल कँडेलले १२९ मत हासिल गरेका थिए ।

यस्तै महासचिव पदमा साझा प्यानलकै नवदत्त घिमिरेले ९७७ महत हासिल गरे । घिमिरेका प्रतिद्वन्दी मदन पौडेलले ९३३ मत हासिल गरेका थिए । महासचिवमा अन्तर जम्मा ३७ मतको रह्यो ।

यस्तै उद्योग उपाध्यक्षमा गठबन्धनका खुमानन्द घिमिरे ९५८ मत हासिल गरी विजयी भए । घिमिरेका प्रतिद्वन्दी रविन्द्र पौडेलले ९२८ मत हासिल गरे ।

यस्तै बाणिज्य उपाध्यक्षमा एमाले प्यानलका नारायण पौडेल लोकप्रिय मतसहित विजयी भए । उनले १२२० मत हासिल गर्दा प्रतिद्वन्दी गठबन्धनका घनश्याम अधिकारीले ६६३ मत मात्र प्राप्त गरे ।

यस्तै वस्तुगत उपाध्यक्षको ११ मतमा शालिकराम भुसाल ६ मत हासिल गरी विजयी भए । उनका प्रतिद्वन्दी रनेन्द्र सेनले ५ मत हासिल गरी १ मतले पराजित भए । यस्तै एशोशियट उपाध्यक्षमा ५६ मत हासिल गरी रामजि सेन विजयी भए ।

प्रतिद्वन्दी बुद्धिराम पौडेलले ३१ मत हासिल गरेका थिए । महिला उपाध्यक्षमा मिना पोख्रेल ८९१ मत हासिल गरी विजयी भइन् ।

कोषाध्यक्ष र सहकोषाध्यक्षमा एमालेका धीरज खनाल र कृष्ण प्रसाद गैरे विजयी हुँदा सचिवमा पनि एमालेकै दामोदर पन्थी विजयी भएका छन् । यस्तै अन्य सदस्य पदमा पनि मिश्रित नतिजा छ ।

प्रकाशित मिति : २८ माघ २०८० आइतबार ००:००  १ : ४५ बजे