१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विजयनगरले ‘सचेत परिवार परिचय पत्र’ लागु गर्दै



विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी बैशाखदेखि ‘सचेत परिवार परिचय पत्र’ लागू गर्ने भएको छ । विजयनगरलाई खानेपानी तथा पूर्ण सरसफाई उन्मुख बनाउन ‘सचेत परिवार परिचयपत्र’ लागू गर्ने भएको हो । खानेपानी तथा पूर्ण सरसफाई युक्त विजयनगर बनाउनका लागि यो अभियानलाई तीव्रता दिएको गाउँपालिकाले जनाएको छ ।
विजयनगर गाउँपालिकामा रहेका ७ वटै वडामा सचेत परिवार परिचयपत्र लागू गर्ने बारेमा सरोकारवालाहरुसँग अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भइसकेको गाउँपालिकाका वास संयोजक अर्जुन बेल्बासेले जानकारी दिए । उनले बिहिबार गाउँपालिका स्तरीय सरोकारवालाहरुसँग सरसफाई अभियान सञ्चालन र ‘सचेत परिवार परिचय पत्र’ लागू गर्ने सम्बन्धमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम समेत गरिएको बताए ।
विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले सरसफाईमा अझै हाम्रो समाज धेरै पछाडी परेको बताउँदै सवैले सरसफाई अभियानमा लाग्नुपर्ने बताए । उनले ‘सचेत परिवार परिचय पत्र’ लागू गर्नुपर्नेमा जोड दिँदै आम नागरिकलाई सचेत गराउँदै स्वच्छ, सफा र सुन्दर विजयनगर बनाउन सबै सरोकारवालाहरुलाई आ आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न अनुरोध गरे । ३ वर्षभित्र विजयनगरमा चौतर्फी रुपमा विकास गरि आमूल परिवर्तन गर्ने उनले दाबी गरे ।
विजयनगर गाउँपालिकाले जारी गरेको ‘सचेत परिवार परिचय पत्र’ मा उल्लेख गरिएका ७ ओटै बुँदाहरुको प्रतिबद्धताको बारेमा सहभागीहरुलाई जानकारी गराउँदै उक्त बुँदाहरु पालना नगरेमा सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गरिनुको साथै जरिवाना समेत तिराई पालिकाले कारवाहीको दायरा ल्याउने उनले बताए । अध्यक्ष थापाले समाजिक सूचकमा सुधार नगरे सम्म अन्य विकासका कामले विकास भएको अर्थ नलाग्ने बताउँदै गाउँपालिका र इच्छुक व्यक्तिको केही लगानीमा ७ सय भन्दा बढी शौचालय निर्माण गर्ने योजना रहेको बताए । उनले ‘एक घर, एक धारा’ अनुरुप सबैे नागरिकको घरघरमा पुग्ने गरि ८ ओेटा ठाउँमा खानेपानी आयोजना समेत सञ्चालन गरिने प्रक्रियामा रहेको अध्यक्ष थापाको भनाई छ ।
यस्तै गाउँपालिक प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले विजयनगर गाउँपालिकाले जारी गरेको ‘सचेत परिवार परिचय पत्र’ मा उल्लेख गरिएको ७ बुँदाहरु सबैले पूर्ण रूपमा पालना गर्नैपर्ने बताए । आगामी बैशाखदेखि ती बुँदाहरुको पालना नगरे गाउँपालिकाबाट पाउने सम्पूर्ण सेवासुविधा रोक्का गर्ने कार्यविधि निर्माण भइ सकेको उनले जनाए । उनले परिचय(पत्रमा उल्लेख गरिएको प्रतिबद्धताहरु पूरा नगरे कुनै पनि सार्वजनिक समिति, उपभोक्ता समिति लगायत पदमा समेत बस्न नपाउने बताए ।

यसैगरी कार्यक्रममा वडा अध्यक्ष दिनेश कुमार चौधरी, कार्यपालिका सदस्य मुजीव उर्रहमान, शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले खानेपानी तथा सरसफाई सचेत परिवार परिचय पत्रका बुँदाहरु माथि सरोकारवालाहरु समक्ष प्रष्ट्याएका थिए । खानेपानी तथा पूर्ण सरसफाई उन्मुख विजयनगर गाउँपालिका बनाई एक सचेत परिवारको परिचय दिन सक्ने वातावरणको सिर्जना गर्नुपर्नेमा उनीहरुले जोड दिए ।
‘सचेत परिवार परिचय पत्र’ मा उल्लेख गरिएका ७ बुुँदाहरु, हेर्नुहोस्
१) मेरो घरमा विद्यालय जाने उमेरका सम्पूर्ण बालबालिका विद्यालय गएका छन् ।
२) मेरो घरमा गर्भवती महिलाले नियमित स्वास्थ्य जाँच तथा मान्यता प्राप्त स्वास्थ्य संस्थामा सुत्केरी गराउने र बालबालिकाले नियमित खोप लगाउनेछन् ।
३) मेरो घरपरिवारमा नियमित चर्पी प्रयोग भएको छ ।
४) मेरो घरपरिवार पूर्ण सरसफाइप्रति प्रतिबद्ध छ। (जस्तै, जताततै दिसा पिसाब नगर्ने, घरपालुवा जनावर बाटोमा नबाँध्ने, जथाभावी फोहर नफाल्ने, सवारी साधनहरु बाटोमा नराख्ने, सडक नाली अवरोध नगर्ने आदि ।
५) मेरो घरपरिवारमा बालविवाह तथा बालश्रम हुने छैन ।
६) मेरो घरपरिवारले महिनामा कम्तिमा १ दिन श्रमदान गर्नेछ ।
७) न्यायिक समितिबाट मिलापत्र भए बमोजिम विवादको समाधान र निर्णयको कार्यान्वयन गर्नेछौँ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८० शुक्रबार ००:००  ९ : ३४ बजे