१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

विजयनगर गाउँपालिकाले सबै विद्यालयमा ध्यान गराउने निर्णय



मायादेवी अनलाइन, विजयनगर ।
विजयनगर गाउँपालिकाले सवै विद्यालयमा ध्यान (मेडिटेशन) गराउने निर्णय गरेको छ । आज गाउँपालिकाको सभाहलमा आयोजित प्रद्यानाध्यापक तथा शिक्षकहरुको वैठकले सवै विद्यालयमा १० मिनेट ध्यान गराउने निर्णय गरेको हो । कक्षा ५ देखि माथीका सवै विद्यार्थीलाई प्रत्येक दिन विद्यालयमा ध्यान (मेडिटेशन) गराउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले ध्यानले नै व्यक्तिको स्वभाव सकारात्मक बनाउन सहयोग पु¥याउने भएकाले ध्यानलाई जोड दिइएको बताउनुभयो । विद्यालय सिकाईको पहिलो पाठशाला भएकाले विद्यालयबाट यो अभियान शुरुवात गरिएको बताउनुभयो ।

‘समाज धेरै अशान्त र विकृत बन्दै गएको छ’ ध्यानको माध्यमबाट व्यक्तिको स्वभाव परिवर्तन गरेर जीवन परिवर्तन गर्न सकिन्छ, उहाँले भन्नुभयो, सुख र शान्तिका लागि सवै व्यक्तिले ध्यान गर्न आवश्यक छ । ध्यान शिविर (मेडिटेशन) विद्यालयमा धेरै प्रभावकारी हुने र यसले समाजलाई सकरात्मक रुपान्तरण गर्न सकिने भएकाले प्रअको वैठकबाट निर्णयगरी कार्यान्वयन गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिहर बेल्वासेले प्रअ, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अन्य सरोकार लगाएतलाई ध्यानको महत्व बारे गाउँपालिकाले बुझाएकाले यसको आवश्यकता महसुस गरी प्रत्येक दिन १० मिनेट विद्यालयमा ध्यान गराउने निर्णय भएको जानकारी दिनुभयो ।

कार्यक्रममा विपश्यना सहायक आचार्य स्वहित कंशाकारले प्रद्यानाध्यापक, शिक्षक, जनप्रतिनिधी सवैलाई ध्यान गराउदै यसको महत्व बारे प्रकाश पार्नुभएको थियो । लामो समयदेखि यस क्षेत्रको अनुभव हासिल गर्नुभएका आचार्य कंशाकारले विद्यालयमा कोभिड बेला अनलाइन तथा अन्य समयमा पनि ध्यान शिविर संचालन गर्दै आएको बताउनुभयो । ध्यानमा निरन्तर अभ्यास गरे मनमा शान्तिको अनुभूति भई व्यक्तिको जीवन सफल हुने बताउनुभयो ।

‘मन भित्रै शान्ति भेटिन्छ, सुख शान्ति खोज्न कहि जानुपर्दैन, असल र खराव स्वभाव हामीसंग छ, दैनिक रुपमा ध्यान गर्दै गइयोभने खराब कुरा हट्दै जान्छ, राम्रो सोच आउँछ, आचार्य कंशाकारले भन्नुभयो ।’ मानिस सुख र शान्तसंग बाँच्न चाहन्छ भने सही तरिकाले ध्यान गर्नुपर्नेमा जोड दिनुभयो ।

‘अधैर्य, वेचैन, खराव सोच र नकारात्मक कुरा सवै चीज ध्यानले हटाउछ । ध्यानले मनको स्वभावमा परिवर्तन ल्याउछ, अनि जीवनमा परिवर्तन हुन्छ । जसले सुख र शान्तसंग बाँच्न सिकाउछ । ध्यान भनेको मनलाई एकठाँउमा राखिराख्ने हो, यो गर्न सम्भव छ’ उहाँले भन्नुभयो ।

विपश्यना सहायक आचार्य स्वहित कंशाकारले आनापान सति ध्यानबारे सिकाउनु भएको थियो । योग (मेडिटेशन) साधना श्री सत्यनारायणजी गोयन्काबाट शिक्षा लिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८० आइतबार ००:००  ९ : २८ बजे