१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

‘ध्यानबाट समाज बदल्छौं, शान्ति र सुख पाउँछौं’ अध्यक्ष थापा



हरि अधिकारी, कपिलवस्तु ।
बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले व्यक्तिको स्वभाव सकारात्मक बनाउन ध्यानलाई (मेडिटेशन) जोड दिइएको बताउनुभयो । विहिबारदेखि विजयनगरका विभिन्न ठाउँमा संचालन गरिएको ध्यान शिविरमा बोल्दै उहाँले समाज रुपान्तरणमा ध्यान महत्वपूर्ण साधक हुने बताउनुभयो । गाउँपालिकाले ८ वटा विद्यालय, गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधी तथा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधी र शिवपुरको एक विद्यालयमा चरणबद्ध रुपमा ध्यान कक्षा संचालन गरेको हो । यस अभियानमा झण्डै ३ हजार बढिले ध्यान कक्षा लिएका हुन् । अभियानकै शिलशिलामा प्रअ शिक्षकहरुको वैठकले सवै विद्यालयमा १० मिनेट ध्यान गराउने निर्णय गरेको हो । कक्षा ५ देखि माथीका सवै विद्यार्थीलाई प्रत्येक दिन विद्यालयमा ध्यान (मेडिटेशन) गराउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
विद्यालय सिकाईको पहिलो पाठशाला भएकाले विद्यालयबाट यो अभियान शुरुवात गरिएको अध्यक्ष थापाले बताउनुभयो । ‘समाज धेरै अशान्त र विकृत बन्दै गएको छ’ ध्यानको माध्यमबाट व्यक्तिको स्वभाव परिवर्तन गरेर जीवन परिवर्तन गर्न सकिन्छ, उहाँले भन्नुभयो, सुख र शान्तिका लागि सवै व्यक्तिले ध्यान गर्न आवश्यक छ ।’ ध्यान शिविर (मेडिटेशन) विद्यालयमा धेरै प्रभावकारी हुने र यसले समाजलाई सकरात्मक रुपान्तरण गर्न सकिने भएकाले प्रअको वैठकबाट निर्णयगरी कार्यान्वयन गरिएको अध्यक्ष थापाले बताउनुभयो । सम्पूर्ण रोगहरु मनमा हुने भएकाले मनलाई नियन्त्रण गर्ने चिज ध्यान हो । ध्यानले आफुलाई बदल्छ अनि समाज बदलिन्छ, उहाँले भन्नुभयो । थापाले केही समय अघि लुम्बिनीमा विपश्यना गरेर समेत आउनुभएको छ ।

कार्यक्रममा विपश्यना सहायक आचार्य स्वहित कंशाकारले प्रद्यानाध्यापक, शिक्षक, विद्यार्थी जनप्रतिनिधी, कर्मचारी, संघसंस्थाका प्रतिनिधी सवैलाई ध्यान गराउदै यसको महत्व बारे प्रकाश पार्नुभएको थियो । लामो समयदेखि यस क्षेत्रको अनुभव हासिल गर्नुभएका आचार्य कंशाकारले विद्यालयमा कोभिड बेला अनलाइन तथा अन्य समयमा स्कुल, संघसंस्थामा ध्यान शिविर संचालन गर्दै आएको छ । ध्यानमा निरन्तर अभ्यास गरे मनमा शान्तिको अनुभूति भई व्यक्तिको जीवन सफल हुने उहाँले बताउनुभयो ।
‘मन भित्रै शान्ति भेटिन्छ, सुख शान्ति खोज्न कहि जानुपर्दैन, असल र खराव स्वभाव हामीसंग छ, दैनिक रुपमा ध्यान गर्दै गइयोभने खराब कुरा हट्दै जान्छ, राम्रो सोच आउँछ, आचार्य कंशाकारले भन्नुभयो ।’ मानिस सुख र शान्तसंग बाँच्न चाहन्छ भने सही तरिकाले ध्यान गर्नुपर्नेमा जोड दिनुभयो । ‘अधैर्य, वेचैन, खराव सोच र नकारात्मक कुरा सवै चीज ध्यानले हटाउछ । ध्यानले मनको स्वभावमा परिवर्तन ल्याउछ, अनि जीवनमा परिवर्तन हुन्छ । जसले सुख र शान्तसंग बाँच्न सिकाउछ । ध्यान भनेको मनलाई एकठाँउमा राखिराख्ने हो, निरन्तर अभ्यासले यो गर्न सम्भव छ । मनको अवस्था थाहा पाउने हो । कतिवेला वाहिर गयो, अनि भित्र आयो भन्ने कुरा । ध्यानमा आफनो स्वासको जानकारी लिने हो ।’
विपश्यना सहायक आचार्य स्वहित कंशाकारले आनापान सति ध्यानबारे सिकाउनु भएको थियो । योग (मेडिटेशन) साधना श्री सत्यनारायणजी गोयन्काबाट शिक्षा लिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८० सोमबार ००:००  ७ : २१ बजे