१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

बाणगंगामा फागुन १८ देखि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने



बाणगंगा ।

कपिलवस्तुको बाणगंगामा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभियानअन्तर्गत बाणगंगाका ३४ हजार ४ सय १२ जना बालबालिकालाई खोप दिइने नगर स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए । मंगलवार बाणगंगाको बुङ्चीमा दादुरा रुबेला खोप अभियानबारे सरोकारवाला निकाय, सञ्चारकर्मी संग छलफलसमेत गरिएको छ ।

फागुन १८ गते देखी सुरु हुने खोप अभियान चैत्र ०४ गते सम्म सञ्चालन हुने छ । खोप अभियान स्वास्थ्य संस्था, विद्यालयलगायत क्षेत्रमा सञ्चालन गरिने उनले जानकारी दिए । “खोप पूर्णरुपमा सुरक्षित र प्रभावकारी रहेकाले आफ्ना सम्पूर्ण बालबालिकालाई सम्बन्धित खोप केन्द्रमा लगेर खोप लगाइदिन आग्रह गर्छु”, पौडेलले भने, “यो रोग सबै उमेर समूहलाई लाग्न सक्ने भए पनि बालबालिकालाई बढी असर गर्छ । त्यसैले लक्षित उमेर समूहलाई खोप लगाउँदै छौँ ।” दादुरा–रूबेला खोप लगाएर दादुरा र रूबेला रोग विरूद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगहरूबाट संक्रमण हुनसक्ने सम्भावनालाई न्यूनीकरण गर्ने उदेश्य नगरपालिकाले लिएको छ ।

कार्यक्रमका अध्यक्ष समेत रहेका नगर प्रमुख चक्रपाणी अर्यालले नगर स्वास्थ्य क्षेत्रमा जिम्मेवार रहेको भन्दै सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीहरुलाई आफ्नो क्षेत्रमा खटेर लाग्न निर्देशन दिए । उनले हरेक अभिभावकले आफ्ना बालबालिकाहरुलाई पायक पर्ने खोप केन्द्रमा लगेर खोप लगाउन आग्रह गरे ।

त्यस्तै उपप्रमुख रिता कुमारी चौधरीले नगरवासीको स्वास्थ्य प्रति पालिका गम्भिर रहेको भन्दै विभिन्न योजना तथा कार्यक्रमहरु सञ्चालन गरिएको बताईन । नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा कयौँ उत्कृष्ट कार्य गरेपनि केहिले थाहा नपाएको बताईन ।

डाक्टर इला सिंह राठौरले २ मात्रामा लगाइने दादुरा–रुबेला खोप निक्कै भरपर्दो, उपयोगी र विश्वासिलो रहने बताइन् । पछिल्लो २ वर्ष यता देशभर १६ सय बढी बालबालिकामा दादुरा–रुबेलाको माहामारी फैलिएको र १ जनाको मृत्यु भएको उनले जानकारी दिईन् ।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, वडा सदस्य, विभिन्न शाखा प्रमुख, स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक शिक्षिका, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । सरकारले सन् २०२६ सम्ममा दादुरा रुबेलालाई निवारण गर्ने लक्ष्य पूरा गर्न खोप अभियान सञ्चालन गरिएको हो । बाणगंगाका ९५ ठाँउबाट खोप दिइने छ । अभियानमा ३० जना भ्याक्सिनेटर खटिने पनि बताईएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८० बुधबार ००:००  ११ : ५४ बजे