२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

बाणगंगालाई जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि



कपिलवस्तु ।
कपिलवस्तुमा १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड बाणगंगा नगरपालिकाले जितेको छ। बाणगंगाले लगातार चौथोपटक शिल्ड जितेको हो। २० स्वर्ण १२ रजत र ६ कास्य पदक हासिल गरी बाणगंगाले शिल्ड आफ्नो पोल्टामा पारेको हो।

यस्तै बुद्धभूमि नगरपालिका १६ स्वर्ण, ५ रजत र ७ कास्यसहित दोस्रो भएको हो। शिवराज नगरपालिका १३ स्वर्ण, २६ रजत र ५ कास्यसहित तेस्रो बन्यो। कपिलवस्तु नगरपालिका ५ स्वर्ण, ६ रजत र १५ कास्यसहित चौथो तथा शुद्धोदन गाउँपालिका १ स्वर्ण, २ रजत र ३ कास्यसहित पाँचौं बन्यो।

मायादेवी गाउँपालिकाले १ रजत र २ कास्य मात्र हासिल गरेको छ। जिल्लामा १० पालिकामध्ये ६ पालिकाले मात्र सहभागिता जनाएको थियो। विजयी खेलाडी र समूहलाई लुम्बिनी प्रदेश सदस्य मधुसूदनशरण चौधरीले शिल्ड मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

सो अवसरमा प्रदेश सदस्य चौधरीले जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि पालिका, प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने बताए। उनले खेलाडीलाई अवसर र सुविधा दिई अघि बढाउनुपर्ने बताए।

तीन दिनसम्म चलेको प्रतियोगितामा एथलेटिक, भलिबल, कबर्दी, उसु र कराते खेल खेलाइएको थियो। समापन समारोह जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेशकुमार उपाध्यायको अध्यक्षता, वासुदेव घिमिरेको सञ्चालनमा भएको थियो।

समारोहमा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, शिवराज नगरपालिका मेयर अजय थापा, प्रजिअ विश्वप्रकाश अर्याललगायतको सहभागिता थियो।

प्रकाशित मिति : ९ फाल्गुन २०८० बुधबार ००:००  १ : ५८ बजे