१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

विजयनगरमा छोरी जन्मदा २२ लाख रकम जम्मा, ‘छोरी बचाऊ, छोरी पढाऊ’ अभियान सार्थक



हरि अधिकारी, कपिलवस्तु ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले २०७८ सालदेखि शुरु गरेको ‘छोरी बचाऊ, छोरी पढाऊ’ को अभियान सफल हुदै गएको छ । परिवारमा पहिलो छोरी जन्मदा छोरीको नाममा बैंक खाता खोली १५ हजार रकम जम्मा गर्ने कार्यक्रम गाउँपालिकाले ल्याएको हो । लुम्बिनी प्रदेशमै यो अभियान पहिलो र प्रभावकारी हुदै गएपछि ‘छोरी बचाऊ, छोरी पढाऊ अभियान’ सफल हुदै गएको हो ।
गाउँपालिकाले २०७८ सालदेखि शुरु गरेको यस अभियानले निरन्तरता पाएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म १ सय ४६ जना छोरीहरुले यो सुविधा पाएका छन् । पहिलो छोरी जन्माएका १ सय ४६ जना विवाहित दम्पत्तीको छोरीहरुको नाममा हालसम्म २१ लाख ९० हजार रकम खातामा जम्मा भैसकेको विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताए । निर्देशिका लागु भएपछि आ.ब. २०७८।०७९ मा ३३ जना, ०७९।८०मा ७४ जना र चालु आ.ब.०८०।८१ को माघ मसान्त सम्म ३९ गरी जम्मा १ सय ४६ जना छोरीहरुको नाममा २१ लाख ९० रकम जम्मा भएको छ । निर्देशिका अनुसार अभिभावकले न्यूनतम ५ हजारका दरले रकम जम्मा गर्दा हालसम्म ७ लाख ३० हजार रकम जम्मा भएको देखिन्छ । अभिभावकले छोरीको नाममा सो भन्दा माथी स्वेच्छिक रुपमा थप रकम जम्मा गर्न सक्छन् ।
२०७८ भदौ २० गते स्वीकृत गरेको विजयनगर गाउँपालिका ‘छोरी बचाऊ, छोरी पढाउ अभियान’ संचालन निर्देशिका अनुसार मान्यता प्राप्त सरकारी स्वास्थ्य संस्थामा नियमानुसार गर्भवतीको जाँच, बच्चा जन्मेको ३५ दिन भित्र अनिवार्य जन्मदर्ता गराएको हुनुपर्ने, विवाहित दम्पत्तीले विवाह दर्ता गरेको हुनुपर्ने, विवाहित दम्पत्तीको पहिलो छोरी हुनुपर्ने मापदण्ड तोकिएको छ । गाउँपालिकाले छोरीको खातामा पठाएको रकम जम्मा भएको २० वर्ष सम्म खर्च गर्न वा झिक्न पाइने छैन भने उक्त रकममा अभिभावकले आफनो इच्छा अनुसार थप रकम जम्मा गर्नुपर्नेछ ।
तराई मधेशको ग्रामीण क्षेत्रमा छोरीलाई पढाउन र उनीहरुको भविष्य सुन्दर बनाउन ‘छोरी बचाऊ, छोरी पढाऊ अभियान’ कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताए । गाउँमा छोरा र छोरी विचको विभेद बढि छ, जन्मदर्ता नगराउने र मधेशमा अहिले पनि छोरीलाई हेँला गर्ने, भ्रुणमै हत्या गर्ने, नपढाउने र सानै उमेरमा विवाह गराइदिने परम्परा कायमै छ, यी सवैकुरा अन्त्य गर्न यो कार्यक्रमले सहयोग पु¥याएको अध्यक्ष थापाले मायादेवी अनलाइनलाई बताए । भारतसँग सीमा जोडिएको कपिलवस्तुको विजयनगर गाउँपालिकामा यस्ता धेरै समस्या छन्, यिनै समस्यालाई कम गर्न पालिकाले पहिलो छोरी जन्माउनेलाई बैंक खातामा १५ हजार राखिदिने गरी ‘छोरी बचाऔं, छोरी पढाऔं’ कार्यक्रम अघि ल्याइएको थापाले बताए । छोरा छोरीको अनिवार्य शिक्षा र पालन पोषणमा अभिभावकको जिम्मेवारी बढाउन र फजुल खर्च कटौती गर्न कार्यक्रमले सहयोग पु¥याएको उनले बताए । २० वर्ष भन्दा कम उमेरमा विवाह हुने परिपाटी अन्त्य हुँदै गई उच्च शिक्षामा सहयोग पुग्ने विश्वास लिइएको छ ।
अभियान मार्फत शिशु जन्मेको ३५ दिनमा नै जन्मदर्ता गराई सक्नुपर्ने व्यवस्था कर्यान्वयन गई जन्मदर्ता समयमा नै हुने गरेको छ । तराई मधेशमा महिलाको नागरिकता समयमा नै नबनाउने उल्लेखीय संख्यामा यो कार्यक्रमले कमी ल्याउनेछ, भने यसले महिला हिंसामा समेत न्यूनीकरणमा सहयोग पुग्ने गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बताइन् । गाउँपालिकाले पहिलो छोरीको नाममा खातामा जम्मा गरिदिने उक्त रकमले परिवारलाई उच्च शिक्षा पढाउन र बिहेवारी गर्दा लाग्ने खर्चमा समेत सहयोग पुग्नेछ ।
छोरी बचाऊ, छोरी पढाऊ अभियानसंगसंगै अन्य कार्यक्रमहरु समेत गाउँपालिकाले संचालन गर्दै आएको छ । नियमित विद्यालय जान र शिक्षाप्रति आकर्षित गर्न गाउँपालिकाले हरेक वर्ष कक्षा ६ भन्दामाथि अध्ययनरत छात्रालाई साइकल, शैक्षिक सामग्री र छात्रावृत्ति वितरण गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८० सोमबार ००:००  १ : ४४ बजे