१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

विजयनगरमा प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता शुरु



कपिलवस्तु ।

विजयनगरमा प्रथम अध्यक्ष कप खेलकुद शुरु कपिलवस्तुको बिजयनगर गाउँपालिकामा प्रथम संस्करणको अध्यक्ष कप खेलकुद प्रतियोगिता वुधबारबाट शुरु भएको छ । प्रतियोगिताको एक औपचारिक समारोहका बिच लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले उद्घाटन गर्नुभयो । प्रदेश सांसद केसीले उद्घाटन गर्दै स्वास्थ्यको लागि खेलकुद अनिवार्य भएकाले यसको माध्यमबाट युवाहरुको चौतर्फी विकासमा टेवा दिनुपर्नेमा जोडदिनुभयो ।
गाउँपालिकाका सवै वडाहरूको सहभागीता रहेको प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल र डोरीतान लगायतका खेलमा प्रतिस्पर्धा हुनेछ । विजयनगर गाउँपालिकाको आयोजनामा ४ नम्बर वडामा अवस्थित शंकरपुर खेल मैदानमा जारी प्रतियोगिता आगामी १९ गते शनिबार सम्म सन्चालन हुने आयोजकले जनाएको छ ।
कार्यक्रम विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता, शिवराज नगरपालिकाका पूर्व मेयर नेत्रराज अधिकारी, विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख लगायतको आतिथ्यता र विजयनगर गाउँपालिका ७ नम्बर वडाका अध्यक्ष दिनेशकुमार चौधरीको स्वागतमा सम्पन्न भएको थियो ।
“स्वास्थ्यका लागि खेलकूद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ शुरु भएको प्रतियोगितामा बोल्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले अध्यक्ष कप प्रतियोगिता सुरु गरिएको बताउनुभयो । यसले सबैमा जागरुकता गराउने कुरामा टेवा पुर्‍याउने अध्यक्ष थापाले विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८० बिहिबार ००:००  ६ : २५ बजे